आज:  | Mon, 04, May, 2026

ठोरीमा ‘जनताको घरदैलोमा डाक्टर’ कार्यक्रम सम्पन्न, २५९ जना लाभान्वित

Avatar photo दिशा निर्देश १९ बैशाख २०८३, शनिबार १८:३० मा प्रकाशित (१ दिन अघि)

वीरगञ्ज। पर्साको ठोरी गाउँपालिका वडा नं. १ मा ‘जनताको घरदैलोमा डाक्टर’ कार्यक्रम सम्पन्न भएको छ।

नागरिक समाज ठोरीको आयोजना तथा प्रभु हस्पिटल वीरगन्जको प्राविधिक सहकार्यमा आयोजित शिविरमा गरिब, विपन्न र अस्पतालसम्म पुग्न नसक्ने २५९ जना स्थानीय बासिन्दाको नि:शुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै औषधि समेत वितरण गरिएको छ।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका बिरामीहरूलाई उनीहरूकै घरदैलोमा पुगेर उपचार र परामर्श दिने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको प्रभु अस्पतालका प्रशासन प्रमुख दिलिपराज कार्कीले जानकारी दिनुभयाे।

स्थानीय सन्तोष श्रेष्ठको समन्वय र प्रतिनिधि सभा सदस्य (सांसद) टेकबहादुर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा प्रभु हस्पिटल वीरगञ्जका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रयास तिमल्सिना र डा. सुरुची श्रेष्ठले बिरामीहरूको स्वास्थ्य जाँच गर्नुभएको थियो। शिविरमा १५९ जना महिला र १०० जना पुरुषले विशेषज्ञ सेवा प्राप्त गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि सांसद टेकबहादुर शाक्यले दुर्गम क्षेत्रका नागरिकका लागि यस्ता कार्यक्रमहरू अत्यन्तै प्रभावकारी हुने बताउँदै आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरहरूलाई निरन्तरता दिन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, कार्यक्रमकी विशिष्ट अतिथि एवं ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली रेग्मीले विकट क्षेत्रमा नागरिक अगुवा र अस्पतालको तर्फबाट भएको यो पहलको प्रशंसा गर्दै आगामी दिनमा गाउँपालिकाले यस्ता कार्यक्रममा आवश्यक समन्वय र सहयोग गर्ने बताउनुभयो।

 


सम्बन्धित खबरहरु