वीरगञ्ज । कथाकार विनयराज गौतमको कथा संग्रह ‘च्यातिएका पानाहरू’ लोकार्पण गरिएको छ। नेपाली लेखक संघ, पर्साकी उपाध्यक्ष उमा मिश्रको अध्यक्षतामा वीरगञ्ज पब्लिक कलेजको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच उक्त कृतिको लोकार्पण गरिएको हो।
कार्यक्रममा साहित्यकार माधव प्रसाद गौतम प्रमुख अतिथिका रूपमा रहनुभएको थियो भने मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, नारायणी वाङ्गमय प्रतिष्ठानका अध्यक्ष डा. विश्वम्भर शर्मा, नेपाल भोजपुरी प्रतिष्ठान बाराका रामप्रसाद साहको विशिष्ट उपस्थिति रहेको थियो। प्रमोद पाण्डे ‘हेरम्ब’ ले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा साहित्यकार गणेश प्रसाद लाठ, समीक्षक गोपाल अश्क, जगदीश शर्मा, ह्यांंग्रिव आचार्य र ठाकुरराम क्याम्पसका प्राध्यापक कुमार सचितानन्द लगायतको सहभागिता थियो।
कृतिको समीक्षा गर्दै डा. विश्वम्भर शर्माले कल्पनाको रङभित्र पनि जीवन र परिवेश लेखाइमा प्रतिविम्बित हुने बताउनुभयो। लेखकका निजी अनुभूतिहरू कृतिमा प्रस्ट देखिने उल्लेख गर्दै उहाँले सन्तानलाई बाहिर पठाएर खुसी हुने अभिनय गर्ने सामाजिक यथार्थलाई कथाले निकै मार्मिक ढङ्गले प्रस्तुत गरेको टिप्पणी गर्नुभयो।
संग्रहमा समेटिएका २० वटा कथाहरूमा फरक-फरक प्रसङ्गहरू रहेको र यसले छोरीहरूको विद्रोह, जातीय विभेद विरुद्धको आवाज र बाहिर राम्रो देखिएर भित्र विकृत मानसिकता बोकेका व्यक्तिहरूको चिरफार गरेको समीक्षाका क्रममा बताइयो। साथै कथाहरूमा आर्थिक, शारीरिक र मानसिक शोषणका साथै पर्यावरणका विषयमा पनि लेखकले कलम चलाएको जानकारी दिइयो।
अर्का समीक्षक गोपाल अश्कले वीरगञ्जलाई साहित्यको उर्वर भूमिको रूपमा चर्चा गर्दै वीरगञ्जका ऐतिहासिक पात्र थिर बमका बारेमा अझै लेखिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
लोकार्पण कार्यक्रममा बोल्दै कथाकार विनयराज गौतमले आफ्नै अनुभव र स्थानीय संस्कार एवं संस्कृतिलाई पुस्तकमा समावेश गर्ने प्रयत्न गरेको बताउनुभयो। गौतमका यसअघि ‘रमरतिया’, ‘फेरि नफर्किने ती दिनहरू’ (संस्मरण), ‘मृत्युका छहारीमा’ र ‘नेपालको शिक्षामा राजनीतिको प्रभाव’ लगायतका कृतिहरू प्रकाशित भइसकेका छन्।
