आज:  | Fri, 01, May, 2026

हिंसातर्फ उन्मुख समाज: एक गम्भीर चुनौती

Avatar photo दिशा निर्देश १६ बैशाख २०८३, बुधबार १४:०५ मा प्रकाशित (२ दिन अघि)

वीरगञ्ज । आज हाम्रो समाज कुन दिशातर्फ अघि बढिरहेको छ? यो प्रश्न अहिले अत्यन्त गम्भीर बनेको छ। दिनहुँजसो सार्वजनिक स्थानमा हुने झगडा, हातपात, दुर्व्यवहार र धम्कीका घटनाहरूले हाम्रो सामाजिक परिवेशलाई नै असुरक्षित बनाउँदै लगेकाे छ।

सडकमा चालक कुटिन्छन्, बजारमा व्यवसायीमाथि आक्रमण हुन्छ, कार्यालयमा कर्मचारी असुरक्षित छन् र अस्पतालजस्तो संवेदनशील स्थानमा समेत स्वास्थ्यकर्मीहरूमाथि शृंखलाबद्ध दुर्व्यवहार भइरहेका छन्। यदि यही प्रवृत्ति निरन्तर रहने हो भने, के हामीमध्ये कोही पनि सुरक्षित रहन सक्छौँ? हामीलाई हरेक क्षेत्रमा सुरक्षाकाे प्रत्याभूति कसले गराउने ?

​अराजकताको बीउ र सामाजिक संकट
​यस्ता घटनाले समाजमा अराजकताको बीउ रोपिरहेका छन्। जब कुनै पनि पेशा, श्रम र व्यक्तिको न्यूनतम सम्मान रहँदैन, तब समाजको जग नै कमजोर बन्छ। घरबाट बाहिर निस्किएको व्यक्ति सुरक्षित रूपमा फर्किनेछ भन्ने सामान्य विश्वास समेत हराउँदै जानु सभ्य समाजका लागि ठूलो खतरा हो। मानिसहरू भय र अविश्वासको छायामा बाँच्न बाध्य हुनु भनेको लोकतान्त्रिक र सभ्य समाजको अस्तित्व नै संकटमा पर्नु हो।

​स्वास्थ्य क्षेत्रमा बढ्दो हिंसा र संवेदनहीनता
​हालै भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको अभद्र व्यवहार र धाकधम्कीले हाम्रो सामाजिक चेतनाको खस्कँदो स्तरलाई पुनः उजागर गरेको छ। अस्पताल जीवन बचाउने थलो हो, जहाँ आशा, सेवा र संवेदनशीलता केन्द्रमा हुनुपर्छ। तर, त्यही स्थानमा डर र हिंसाको वातावरण सिर्जना हुनु अत्यन्त दुःखद छ। यदि यस्ता घटनालाई समाजले ‘सामान्य’ रूपमा लिन थाल्यो भने, यसले भविष्यमा झन् ठूलो दण्डहीनता निम्त्याउने निश्चित छ।

हाम्रो समाजले चिकित्सक र स्वास्थ्यकर्मीबाट ‘भगवान’ सरह चमत्कारको अपेक्षा गर्छ। तर, उपचारका क्रममा बिरामीको मृत्यु हुँदा त्यही स्वास्थ्यकर्मीलाई ‘अपराधी’ झैँ व्यवहार गरिन्छ।
​चिकित्सा विज्ञान प्रयास र ज्ञानमा आधारित सेवा हो, यो जीवनको पूर्ण ग्यारेन्टी होइन। कुनै पनि चिकित्सकले शतप्रतिशत सुनिश्चितता दिन सक्दैनन्, तर उनीहरू आफ्नो क्षमता र निष्ठाले सेवा दिइरहेका हुन्छन्।

स्वास्थ्यकर्मीहरू निरन्तर असुरक्षित र त्रसित रहँदा उनीहरूको मनोबल खस्किन्छ। मानसिक दबाब र तनावमा गरिने उपचारले सेवाको गुणस्तरमा मात्र असर पार्दैन, यसले अन्ततः आम नागरिककै जीवन जोखिममा पुर्‍याउँछ। स्वास्थ्यकर्मीमाथि हुने एउटा प्रहारले समग्र स्वास्थ्य प्रणालीलाई नै अपाङ्ग बनाउँछ।

डाक्टर, नर्स, चालक, शिक्षक वा कर्मचारी उनीहरू सबैभन्दा पहिले मानिस हुन्। उनीहरूको पनि आफ्नै संवेदना, परिवार र आत्मसम्मान हुन्छ। निरन्तरको अपमान र अन्यायले एकदिन प्रतिकारको अवस्था ल्याउन सक्छ, जसले समाजलाई अझ जटिल र खतरनाक मोडतर्फ धकेल्नेछ।

हिंसा कुनै पनि समस्याको समाधान होइन। यदि कसैप्रति असन्तुष्टि छ भने संवाद गरौँ, कतै गल्ती भएको छ भने कानुनी प्रक्रिया अपनाऔँ र पीडाको समयमा संवेदनशीलता देखाऔँ। सम्मान, समझदारी र विधिको शासन नै सभ्य समाजका आधारस्तम्भ हुन्।


सम्बन्धित खबरहरु