वीरगञ्ज। सात महिनादेखि तलब नपाएको भन्दै पर्साको छिपहरमाई गाउँपालिकामा कार्यरत करारका कर्मचारीहरूले गाउँपालिका कार्यालयमा तालाबन्दी गर्दै धर्ना दिएका छन्। आन्दोलनका कारण गाउँपालिका तथा वडा कार्यालयहरूको सेवा प्रवाह प्रभावित भएको छ।
गाउँपालिका र मातहतका वडा कार्यालयहरूमा कार्यरत कर्मचारीहरू बिहान ९ बजेदेखि भिस्वास्थित गाउँपालिका कार्यालय अगाडि धर्नामा बसेका हुन्। उनीहरूले लामो समयदेखि तलब नपाउँदा दैनिक जीवनयापनमै कठिनाइ भएको बताएका छन्।
वडा नं. ५ मा कार्यरत कम्प्युटर अपरेटर लालबाबु महमदले कात्तिक महिनादेखि तलब नपाएको बताए। उनका अनुसार माघ महिनादेखिको करार म्यादसमेत थप नभएको र हालसम्म पारिश्रमिक नपाउँदा कर्मचारीहरू समस्यामा परेका छन्।
कर्मचारीहरूले तलब निकासा गरिदिन प्रमुख प्रशासकीय अधिकृत र लेखापालसँग पटकपटक आग्रह गरे पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्। उनीहरूका अनुसार गाउँपालिका र वडा कार्यालयहरूमा कार्यरत करिब ५० जना कर्मचारी सात महिनादेखि तलबविहीन छन्।
धर्ना र तालाबन्दीका कारण गाउँपालिका कार्यालयसहित पाँचवटै वडा कार्यालयको कामकाज ठप्प भएको छ। यसबाट सेवाग्राहीहरू आवश्यक सेवा लिनबाट वञ्चित भएका छन्।
