बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२४ स्थित हरपुर गाउँमा मुस्लिम समुदायद्वारा आयोजना गरिएको पवित्र धार्मिक कार्यक्रम ‘इज्तिमा’ आज अन्तिम दिन विशेष दुआ तथा सामूहिक प्रार्थनासहित भव्य रूपमा सम्पन्न भएको छ।
तीन दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा नेपालका विभिन्न जिल्ला तथा छिमेकी मुलुकहरूबाट आएका लाखौँ श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
समापन अवसरमा देशमा सुख, शान्ति, उन्नति, समृद्धि तथा आपसी सद्भाव कायम रहोस् भन्ने कामनासहित सामूहिक रूपमा विशेष दुआ गरिएको थियो। कार्यक्रममा सहभागी धार्मिक अगुवाहरूले समाजमा प्रेम, सहिष्णुता, अनुशासन, नैतिकता तथा भाइचाराको भावना अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
साथै उनीहरूले धार्मिक सहिष्णुता र सामाजिक एकताले मात्र मुलुकलाई समृद्धितर्फ अघि बढाउन सकिने धारणा व्यक्त गरेका थिए।
तीन दिनसम्म हरपुर गाउँ तथा आसपासका क्षेत्र धार्मिक तथा आध्यात्मिक वातावरणले भरिएको थियो।
बिहानदेखि रातिसम्म कुरआन पाठ, धार्मिक प्रवचन, नमाज तथा आत्मशुद्धिसम्बन्धी शिक्षामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागी श्रद्धालुहरू अनुशासित र शान्तिपूर्ण रूपमा धार्मिक गतिविधिमा संलग्न देखिएका थिए।
इज्तिमा इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक जमघटका रूपमा लिइन्छ, जहाँ आत्मिक शुद्धता, ईमान मजबुत बनाउने शिक्षा, सामाजिक सुधार तथा सामूहिक प्रार्थनामा विशेष जोड दिइन्छ। यस प्रकारका कार्यक्रमले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै समाजमा एकता, सद्भाव र सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।
