आज:  | Mon, 13, Apr, 2026

चलचित्र पत्रकार संघ नेपाल पर्साद्वारा पन्तलाई सम्मान

Avatar photo दिशा निर्देश ६ चैत्र २०८२, शुक्रबार १३:०९ मा प्रकाशित (३ हफ्ता अघि)

वीरगञ्ज। चलचित्र पत्रकार संघ नेपाल, पर्साले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बुद्धि प्रसाद (हरि) पन्तलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

शुक्रवार वीरगञ्जमा आयोजित एक कार्यक्रमबीच संघका अध्यक्ष सूर्यनारायण वि.क.सहित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पन्तलाई सम्मान गर्दै सफल कार्यकालको कामना गरेका हुन् ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष सूर्यनारायण वि.क.ले चलचित्रमार्फत पर्यटन प्रवद्र्धन गर्न पन्तले विशेष पहल गर्नुपर्नेमा जोड दिए । पर्सासहित समग्र मधेश प्रदेशलाई राज्यले अपेक्षित ध्यान नदिएको उल्लेख गर्दै चलचित्र पर्यटनका प्रचुर सम्भावना हुँदाहुँदै पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

पर्साका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्दै ती क्षेत्रलाई चलचित्र छायांकनका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा सहभागीहरूले ऐक्यबद्धता जनाएका थिए ।

संघका कार्यसमिति सदस्य जय यादवले बिन्दबासिनी मन्दिर, भाठाधाम मन्दिर र पारसनाथ मन्दिरजस्ता ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षण, प्रवद्र्धन र व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । पर्सा राष्ट्रिय निकुञ्जलाई पनि पर्यटकीय कोरिडोरको रुपमा विकास गर्न सके अर्थाेपार्जन र यस क्षेत्रका नागरिकको जिविकोपार्जनमा पनि टेवा पुग्ने उनको विश्वास छ ।

सांसद पन्तले संसदमा र विभिन्न सार्बजनिक मञ्चमा दिने अभिव्यक्तिमाथि सदैव निगरानी रहीरहने बताउँदै यादवले पत्रकारिता पेशामार्फत निरन्तर खबरदारी गराइरहने बताए ।

संघले नेपाली चलचित्रको बजार विस्तार, दर्शकलाई सही सूचना प्रवाह तथा स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने काम गर्दै आएको उल्लेख गर्दै नवनिर्वाचित सांसद पन्तले संघको सक्रियताको प्रशंसा गरे ।

उनले आफू होटल तथा पर्यटन व्यवसायीसँगै चलचित्र निर्माता पनि भएको उल्लेख गर्दै यस क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत दुवै तहमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । “हाम्रो क्षेत्रको विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्छ,” उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति समेत रहेका पन्त ‘राजनीति’ र ‘मेला’ नेपाली चलचित्रका निर्माता हुन् ।

कार्यक्रममा संघका उपाध्यक्ष आनन्द पटेल, सचिव रन्जित यादव, सदस्यहरू सन्तोष कुशवाहा, अखिल पटेललगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित खबरहरु