आज:  | Sun, 19, Apr, 2026

पर्सामा ग्यास, पेट्रोल र डिजेलको अभाव छैन : कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको चेतावनी

Avatar photo दिशा निर्देश २७ फाल्गुन २०८२, बुधबार १७:३५ मा प्रकाशित (१ महिना अघि)

वीरगञ्ज । पर्सा जिल्लामा खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको पर्याप्त मौज्दात रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले कृत्रिम अभाव सिर्जना नगर्न सरोकारवालालाई चेतावनी दिएको छ।

पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले पेट्रोलियम पदार्थको आपूर्ति र वितरणलाई नियमित तथा व्यवस्थित बनाउन विभिन्न निर्णय गरेको हो।

बैठकमा नेपाल आयल निगम, ग्यास उद्योग, डिलर तथा सम्बन्धित संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
बैठकमा प्रस्तुत जानकारी अनुसार जिल्लामा ग्यास, डिजेल र पेट्रोलको मौज्दात पर्याप्त रहेको तथा आयातसमेत नियमित रूपमा भइरहेकाले तत्काल अभाव हुने अवस्था नरहेको प्रशासनले स्पष्ट पारेको छ।
प्रशासनले अनावश्यक रूपमा ग्यास, डिजेल र पेट्रोल भण्डारण नगर्न तथा अभावको हल्ला नफैलाउन आग्रह गरेको छ।

साथै पेट्रोल र डिजेल ग्यालेन वा ड्रममा खुला बिक्री–वितरण नगर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ।

त्यस्तै, ग्यास डिलरहरूले दैनिक बिक्री गरेको उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बर सहितको विवरण ग्यास उद्योगमा उपलब्ध गराउने तथा उद्योगहरूले डिलरलाई दिएको सिलिन्डरको परिमाणसहितको जानकारी जिल्ला प्रशासन कार्यालय पर्सा, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज र नेपाल आयल निगम शाखालाई इमेलमार्फत पठाउने निर्णय पनि बैठकले गरेको छ।


सम्बन्धित खबरहरु