वीरगञ्ज। अस्पताल विकास समिति कर्मचारी ट्रेड युनियन केन्द्रीय कार्यसमितिको तेस्रो पूर्ण बैठक वीरगञ्जस्थित नारायणी अस्पतालको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रम संयोजक डा. रोशन अलीको संयोजनमा सम्पन्न बैठकको अध्यक्षता अस्पताल विकास समिति कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष सञ्जय बरालले गरेका थिए ।
बैठकमा संगठनात्मक सुदृढीकरणसँग सम्बन्धित विविध विषयमा छलफल गरिएको छ । छलफलका प्रमुख एजेन्डामा केन्द्रीय कार्यसमितिका नवनियुक्त सदस्यहरूको स्वागत, सदस्यता वितरण तथा नविकरण, मातहतका प्रदेश र इकाइ कार्यसमितिहरूको गठन तथा पुनर्गठन, चौथो राष्ट्रिय महाधिवेशनको मिति र स्थान तय गर्ने, साथै महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तयार गर्ने विषय समावेश रहेका थिए ।
बैठकलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष सञ्जय बरालले अस्पताल विकास समिति अन्तर्गत कार्यरत कर्मचारीहरूका समस्या, अधिकार र पेशागत सुरक्षाका विषयलाई संगठित रूपमा उठाउँदै समाधानतर्फ लैजानु युनियनको प्रमुख जिम्मेवारी भएको बताए । उनले संगठनलाई थप सशक्त, अनुशासित र परिणाममुखी बनाउँदै कर्मचारीहरूको साझा आवाजलाई राष्ट्रिय स्तरमा मजबुत रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी बैठकमा केन्द्रीय महासचिव नवराज लुईटेलले संगठनको हालसम्मको गतिविधि, सदस्यता अवस्था र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए । उनले प्रदेश तथा इकाइ कार्यसमितिहरूलाई थप सक्रिय बनाउँदै संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकतामा राखिने बताए । साथै राष्ट्रिय महाधिवेशनलाई समयमै र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारीमा संगठन जुटेको उनले जानकारी गराए ।
बैठकमा अस्पताल विकास समिति अन्तर्गत कार्यरत कर्मचारीहरूको हकहित, पेशागत सुरक्षा, सेवा सुविधा, कार्यस्थलका समस्या तथा कर्मचारीमैत्री नीति निर्माणका विषयमा पनि छलफल गरिएको थियो ।
बैठकपछि जानकारी दिँदै संगठनका केन्द्रीय सदस्य रामेश्वर प्रसादले अस्पताल विकास समिति कर्मचारी ट्रेड युनियन अस्पतालका कर्मचारीहरूको अधिकार संरक्षण, पेशागत मर्यादा कायम राख्ने र नीति निर्माण तहमा प्रभावकारी दबाब सिर्जना गर्ने उद्देश्यका साथ अघि बढिरहेको संगठन भएको बताए । उनले आगामी दिनमा संगठनलाई अझ मजबुत र प्रभावकारी बनाउँदै देशभरका अस्पताल विकास समितिमा कार्यरत कर्मचारीहरूको साझा आवाज बुलन्द बनाइने विश्वास व्यक्त गरे ।
बैठकमा केन्द्रीय सदस्यहरू रामेश्वर प्रसाद, साबित्री पौडेल, हरिलाल गुप्ता, सन्तोष सिंह लगायतको उपस्थिति रहेको थियो ।
