आज:  | Sun, 19, Apr, 2026

चक्रघट्टामा निःशुल्क आँखा शिविर सम्पन्न, ९१८ जनाको निःशुल्क आँखा परीक्षण

Avatar photo दिशा निर्देश १५ पुष २०८२, मंगलवार १३:५५ मा प्रकाशित (३ महिना अघि)

सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिकामा निःशुल्क मोतियाबिन्दु आँखा शिविर सम्पन्न भएको छ। गाउँपालिकाको सहयोग र विभिन्न संघ–संस्थाको सहकार्यमा पुस ११ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको शिविरबाट ९१८ जनाले निःशुल्क आँखा परीक्षण तथा औषधि सेवा प्राप्त गरेका छन्।

शिविरअन्तर्गत २०९ जना मोतियाबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको आयोजकले जानकारी दिएको छ। ओपीडी सेवा तथा शल्यक्रिया भरतपुर आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. अमृत आचार्य र उहाँको चिकित्सक टोलीले प्रदान गरेका थिए।

शिविर सञ्चालनमा नेपाल नेत्र ज्योति संघ र भरतपुर आँखा अस्पतालले प्राविधिक सहयोग गरेका थिए भने आरयूआईटी फाउन्डेसनले वित्तीय सहयोग उपलब्ध गराएको थियो। यस्तै, आर्थिक सहयोग चक्रघट्टा गाउँपालिका, सर्लाहीले गरेको थियो। शिविरको आयोजना जनशक्ति युवा क्लबले गरेको हो।

उक्त शिविरमा चक्रघट्टा गाउँपालिकाकी उपाध्यक्षले पनि मोतियाबिन्दुको शल्यक्रिया गराएकी छन्। सर्वसाधारण नागरिकहरूसँगै एउटै शिविरमार्फत उपचार गराएर उपाध्यक्षले सेवा, समानता र जनप्रतिनिधिको जिम्मेवारीको उदाहरण प्रस्तुत गरेको आयोजक पक्षले जनाएको छ।

स्थानीय तहको पहल, संस्थागत सहकार्य र चिकित्सक टोलीको समर्पणका कारण दुर्गम तथा आर्थिक रूपमा कमजोर नागरिकहरूले निःशुल्क र गुणस्तरीय आँखा उपचार सेवा पाएको स्थानीयवासीहरूले बताएका छन्। गाउँपालिकाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


सम्बन्धित खबरहरु