वीरगञ्ज । म्याथेमेटिक्स एसोसिएसन अफ नेपाल– म्यान मधेश प्रदेश समितिको आयोजनामा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूका लागि जिल्ला गणित ओलम्पियाड पर्सामा सम्पन्न भएको छ।
शनिबार भएको प्रतियोगिता पर्साका तीन वटा परीक्षा केन्द्रमार्फत एकैसाथ सञ्चालन गरिएको थियो। परीक्षा नेशनल इन्फोटेक कलेज वीरगञ्ज, त्रिभुवन हनुमान माध्यमिक विद्यालय वीरगञ्ज र जिल्ला उच्चाङ्ग माध्यमिक विद्यालय पोखरियामा सञ्चालन गरिएको थियो।
जिल्ला गणित ओलम्पियाडमा पर्सा जिल्लाका विभिन्न विद्यालयका १२५ जना विद्यार्थी सहभागी भएका थिए।
म्यान मधेश प्रदेश समितिका सचिव रामबाबु बैठाका अनुसार जिल्ला गणित ओलम्पियाडमा उत्तीर्ण हुने विद्यार्थीहरू आगामी चरणको प्रदेशस्तरीय गणित ओलम्पियाड परीक्षामा सहभागी हुन योग्य हुनेछन्। उनले परीक्षा सफल बनाउन सहयोग गर्ने सबै परीक्षा केन्द्र, निरीक्षक, विद्यालय प्रशासन तथा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
जिल्ला गणित ओलम्पियाडले विद्यार्थीहरूमा गणित विषयप्रतिको रुचि बढाउनुका साथै तार्किक सोच, विश्लेषण क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुर्याउने विश्वास आयोजकले लिएको छ।
