बारा । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाल संघीय समाजवादी पार्टीले संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाएको छ। यही क्रममा बारा जिल्लाको पुनः जिल्ला कमिटी गठन गरिएको छ।
बारा जिल्ला अन्तर्गत स्वर्ण गाउँपालिका वडा नं. ६ चौरहियामा आयोजित पार्टीको महत्वपूर्ण संगठनात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा पार्टीकी संसदीय दलकी नेता तथा पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री बिमला अन्सारीको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता मोकादम मियाले गर्नुभएको थियो।
कार्यक्रमबाट पार्टी संगठनलाई थप मजबुत बनाउने उद्देश्यसहित बारा जिल्लाको नयाँ जिल्ला कमिटी पुनः गठन गरिएको हो। नवगठित जिल्ला कमिटीको अध्यक्षमा नुरुल्ला मिया अन्सारी चयन हुनुभएको छ।
पार्टीले समावेशी, उत्तरदायी र जवाफदेही संरचना सुनिश्चित गर्दै सदस्यीय जिल्ला कमिटी गठन गरिएको जानकारी दिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष मोहम्मद रिजवान अन्सारीले आगामी राजनीतिक चुनौती सामना गर्न संगठन सुदृढीकरण अपरिहार्य रहेको बताउनुभयो। उहाँले विशेषगरी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई गाउँ–टोलसम्म सक्रिय रूपमा परिचालित हुन निर्देशन दिनुभयो।
त्यसैगरी, अध्यक्ष अन्सारीले यही महिनाको पुस २० गते मलाङवामा आयोजना हुने आमसभालाई ऐतिहासिक र सन्देशमूलक बनाउन अधिकतम जनसहभागिता सुनिश्चित गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।
विशिष्ट अतिथि माननीय बिमला अन्सारीले पार्टी जनताको हक, अधिकार र समावेशी लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,
“नेपाल संघीय समाजवादी पार्टी सत्ताका लागि मात्र होइन, उत्पीडित र पछाडि पारिएका समुदायको न्याय, अधिकार र पहिचानका लागि निरन्तर संघर्षरत पार्टी हो।”
उहाँले पारदर्शी नेतृत्व, जवाफदेही संगठन र जनमुखी राजनीति नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गर्दै सबै नेता तथा कार्यकर्तालाई अनुशासित, जिम्मेवार र प्रतिबद्ध ढंगले अघि बढ्न आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पार्टीको नीति, विचार र संगठन विस्तारलाई लोकतान्त्रिक, पारदर्शी र राष्ट्रिय आवश्यकताअनुकूल ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
