आज:  | Thu, 23, Apr, 2026

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

Avatar photo दिशा निर्देश ४ पुष २०८२, शुक्रबार १५:०५ मा प्रकाशित (४ महिना अघि)

चितवन। गत भदौ २३ र २४ गते चितवनमा भएको जेन–जी प्रदर्शनका क्रममा घाइते भएका सात जनाको वर्गीकरणका लागि केन्द्रमा सिफारिस गरिएको छ। जिल्लामा रहेका कुल १४२ घाइतेमध्ये परिचयपत्र बनाएका १७ जनामध्ये सात जनाको जिल्लास्तरमै निर्णय गरी वर्गीकरणका लागि पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमका अनुसार सिफारिस गरिएकामध्ये अधिकांश मध्यम र सामान्य प्रकृतिका घाइते रहेका छन्।

जेन–जी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि अनुसार केन्द्रमा प्राविधिक समिति रहेको छ भने जिल्लामा जिल्लास्तरीय वर्गीकरण सहजीकरण समितिले प्रारम्भिक वर्गीकरण गर्ने व्यवस्था छ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन भएको आठ सदस्यीय समितिमा सङ्घीय अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, दुई जना चिकित्सक, जनस्वास्थ्य प्रमुख, प्रहरी अधिकारी तथा जिल्ला प्रशासन कार्यालयका अधिकृत सदस्य रहने व्यवस्था छ। उक्त समितिले जिल्लास्तरमा घाइतेको वर्गीकरण गरी केन्द्रमा सिफारिस गर्ने गर्दछ।

केन्द्रको प्राविधिक टोलीले पुनः मूल्याङ्कन गरेपछि स्वास्थ्य मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेस गरिने गौतमले जानकारी दिए। घाइतेलाई अतिगम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार तहमा वर्गीकरण गरिनेछ। अतिगम्भीर, गम्भीर तथा मध्यम घाइतेलाई अवस्थाअनुसार राज्यबाट जीवन निर्वाह भत्ता उपलब्ध गराइने व्यवस्था रहेको उनले बताए।

जिल्लामा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र वितरण गरिएसँगै सुरुआती चरणमा उपचारका लागि रु २० हजारसम्म सहयोग उपलब्ध गराइने व्यवस्था छ।

अन्य जिल्लाका स्थायी बासिन्दा घाइतेले भने आफ्नो स्थायी जिल्लाबाट परिचयपत्र नलिएको प्रमाणसहित निवेदन दिनुपर्ने प्रशासनले जनाएको छ।

परिचयपत्र वितरण तथा वर्गीकरणको प्रक्रिया जारी रहेकाले प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूलाई आवश्यक कागजातसहित स्थानीय प्रशासनमा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।


सम्बन्धित खबरहरु