वीरगञ्ज । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको माग तत्काल सम्बोधन गर्न निर्देशन दिएकी छन्।
प्रधानमन्त्री कार्कीले बिहीबार स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर नर्सहरूको आन्दोलनबारे जानकारी लिँदै समस्या समाधानका लागि तात्कालिक कदम चाल्न आदेश दिएकी हुन्। साथै उनले आन्दोलनबारे प्रगतिप्रति नियमित जानकारी गराउन पनि निर्देशन दिइन्।
स्वास्थ्य मन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेकी कार्कीले दक्ष स्वास्थ्यकर्मीलाई न्यून पारिश्रमिकमा काम गर्न बाध्य पार्नु अन्यायपूर्ण रहेको बताउँदै भनिन्, “यदि अब पनि समस्या समाधान भएन भने ठूलो संख्यामा दक्ष जनशक्ति विदेश पलायन हुने जोखिम छ।”
हाल कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार पाँचौँ तह बराबरको पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा छन्। मन्त्रालयले गत मंसिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको तलब ३४ हजार ७३० रुपैयाँ निर्धारण गरेको थियो।
