आज:  | Sun, 19, Apr, 2026

पर्सा र बारामा हैजा नियन्त्रणका लागि खोप अभियान सुरु हुँदै

Avatar photo दिशा निर्देश २३ आश्विन २०८२, बिहीबार १५:४२ मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज । नेपालमा हैजाको संक्रमण तीव्र रूपमा फैलिएको अवस्थामा सरकारले पर्सा र बाराका उच्च जोखिम क्षेत्रहरूमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरु गर्ने तयारी गरेको छ।

सरकारको योजना अनुसार पर्साका सबै १४ वटै स्थानीय तहमा र बाराका ६ वटा स्थानीय तहमा एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई मुखबाट दिइने हैजाविरुद्धको इयूभिकोल–एस खोप वितरण गरिनेछ। परिवार कल्याण महाशाखाका अनुसार पर्सामा २६ असोजदेखि र बारामा २९ असोजदेखि अभियान सुरु हुनेछ।

हैजा प्रकोपपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय समन्वय समूह (ICG) मार्फत खोपको माग गरेको थियो। सोअनुसार नेपाललाई विश्व स्वास्थ्य संगठन (WHO) र युनिसेफको सहयोगमा १० लाख १८ हजार मात्रा खोप प्राप्त भएको हो।

परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालका अनुसार, “यो खोप उपचार होइन, तर हैजा नियन्त्रणमा महत्त्वपूर्ण सहयोगी भूमिका खेल्नेछ।” उनले बताए अनुसार यसपटक एकपटक मात्रै खोप दिइने छ, जसको प्रभावकारीता खोप खुवाएको दुई सातापछि ८२ प्रतिशतसम्म देखिएको छ।

पर्सा र बाराका विभिन्न क्षेत्र हाल पनि हैजाको उच्च जोखिममा रहेका छन्। ६ भदौमा वीरगञ्ज महानगरपालिका–१२ मुरली टोलबाट सुरु भएको संक्रमण क्रमशः अन्य वडाहरू, स्थानीय तह र बाराका सीमावर्ती भागमा फैलिएको थियो। अहिलेसम्म १ हजार ६८५ जनामा संक्रमण पुष्टि भइसकेको छ।

डा. लालका अनुसार पर्सामा ६ लाख ५२ हजार १२९ र बारामा ३ लाख ६३ हजार ९३१ जनालाई खोप दिने लक्ष्य राखिएको छ। विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक स्थल तथा आवश्यक परेमा घरघरमै पुगेर खोप खुवाइनेछ।

खोप अभियान पर्साका सबै स्थानीय तहमा र बाराका जितपुर–सिमरा, कलैया, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गरी ६ स्थानीय तहमा सञ्चालन हुनेछ।


सम्बन्धित खबरहरु