आज:  | Thu, 23, Apr, 2026

१० महिनादेखि भाडा नपाएपछि रास्वपालाई तीन महिनाभित्र घर खाली गर्न आग्रह

Avatar photo दिशा निर्देश १० आश्विन २०८२, शुक्रबार १४:३१ मा प्रकाशित (६ महिना अघि)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बनस्थलीस्थित केन्द्रीय कार्यालय राख्न घर भाडामा दिएका घरधनी भरतमणि देवकोटाले लामो समयसम्म भाडा नपाएपछि घर खाली गर्न आग्रह गरेका छन्।

देवकोटाले करिब १० महिनादेखि भाडा नपाएको र सुरक्षासम्बन्धी कारण देखाउँदै तीन महिनाभित्र घर खाली गरिदिन रास्वपालाई जानकारी गराएको बताएका छन्। उनका अनुसार पार्टीसँग मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडा गर्ने सहमति भएको थियो।

“१० महिनाको भाडावापत रकम पाएको छैन। त्यति मात्र होइन, पार्टीलाई सापट दिएको रकम पनि अझै फिर्ता आएको छैन,” अमेरिकामा रहेका देवकोटाले अनलाइनखबरसँग भने। उनले भनेका छन्, “पार्टीमा संलग्नता एउटा कुरा हो, तर घरभाडा फरक विषय हो। त्यसलाई बुझ्ने गम्भीरता पार्टीले देखाएन।”

स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय सानो भएको भन्दै त्यसपछि देवकोटाको घरमा सारिएको थियो। पार्टीमा अनुशासन आयोग प्रमुख रहेका देवकोटा अमेरिका गएकाले हाल कार्यवाहक तोकिएको छ।

रास्वपा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकार समेत बनेका थिए।


सम्बन्धित खबरहरु