आज:  | Fri, 24, Apr, 2026

अन्तरिम सरकारले फागुन २१ मा चुनाव गर्ने घोषणा, आयोग तयारीमा

Avatar photo दिशा निर्देश २९ भाद्र २०८२, आईतवार ११:५४ मा प्रकाशित (७ महिना अघि)

काठमाडौँ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचन आयोग तयारीमा जुटेको छ ।

जेनजी पुस्ताको आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते संसद् विघटन गर्दै निर्वाचन घोषणा गरेका थिए ।

राष्ट्रपति पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै ‘प्राप्त अवसरको सदुपयोग गरी जनता रिझाउने र निर्वाचन सम्पन्न गराउने’ अपिलसमेत गरेका छन् ।

निर्वाचन घोषणासँगै आयोगले आन्तरिक तयारी सुरु गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । उनले भने,
‘हामी निर्वाचन गराउने तयारीमा छौँ । जनशक्ति कमी छ, त्यसमा ध्यान दिनुपर्नेछ । छलफल गरेर दुई/तीन दिनमा निष्कर्ष निकाल्नेछौँ ।’

भण्डारीका अनुसार मतदाता अद्यावधिक कार्यतालिका बनाउनुपर्ने भएकाले हालसम्म ठोस निष्कर्ष ननिकालिएको हो ।

भदौ २३ गते भएको जेनजी आन्दोलनमा सरकारी दमनका कारण ५१ जनाको मृत्यु भएको थियो । आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा अर्बौँको क्षति पुगेपछि मुलुक असुरक्षा बढेको थियो । सोही परिस्थितीमा नेपाली सेनाको मध्यस्थतामा राष्ट्रपति र जेनजीबीच सहमति भई कार्की नेतृत्वको अन्तरिम सरकार बनेको हो ।


सम्बन्धित खबरहरु