आज:  | Fri, 24, Apr, 2026

राष्ट्रपतिबाट आजै सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने, ९ बजे शपथ

Avatar photo दिशा निर्देश २७ भाद्र २०८२, शुक्रबार २०:१५ मा प्रकाशित (७ महिना अघि)

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने सहमति जुटेको छ। सहमतिपछि राष्ट्रपति रामचन्द्र पौडेलले आजै कार्कीलाई नियुक्त गर्दै राति ९ बजे शपथ गराउने तयारी भएको राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखरेलले जानकारी दिए।

यसअघि नयाँ सरकार गठनबारे छलफल गर्न कार्कीसहितको टोली शीतल निवास पुगेको थियो। सो टोलीमा जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल पनि सहभागी थिए।

कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा सहमति भए पनि संसद् विघटनबारे भने अन्तिम निर्णय भइसकेको छैन। पोखरेलले यसबारेमा औपचारिक जानकारी कार्कीको नियुक्तिपछि सार्वजनिक हुने बताए।

स्रोतका अनुसार, जेनजी अभियन्ताले राष्ट्रपति कार्यालय घेराउ गर्ने चेतावनी र सेना प्रमुख अशोकराज सिग्देलले संकटकाल लगाउन सक्ने सम्भावनापछि राष्ट्रपति पौडेल संसद् विघटन गर्ने आफ्नो अडानबाट पछि हटेका हुन्।

यसअघि, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको चर्को दबाबका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए। असामान्य परिस्थितिलाई मध्यनजर राखी दिएको राजीनामा राष्ट्रपति पौडेलले सोही दिन स्वीकृत गरेका थिए।


सम्बन्धित खबरहरु