आज:  | Fri, 24, Apr, 2026

नाउपाबाट चुनाव लडेका धनिराम चौधरी प्रवेश गरे जनमत पार्टीमा

Avatar photo दिशा निर्देश ९ भाद्र २०८२, सोमबार १०:०८ मा प्रकाशित (८ महिना अघि)

वीरगञ्ज । आसन्न रुपन्देही–३ उपनिर्वाचनको तयारीसँगै डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो राजनीतिक स्थिति मजबुत बनाउन महत्त्वपूर्ण कदम चालेको छ।

पार्टीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट अघिल्लो निर्वाचनमा उठेका धनिराम चौधरीलाई स्वागत गर्दै आफ्नो संगठनमा समावेश गरेको छ। आइतबार पार्टी अध्यक्ष डा. राउतले सार्वजनिक रूपमा चौधरीलाई जनमत पार्टीमा स्वागत गरेका थिए। पार्टी प्रवक्ता डा. शरदसिंह यादवका अनुसार, रुपन्देही–३ मा हुने उपनिर्वाचनमा चौधरीलाई उम्मेदवार बनाउने तयारीका साथ उनलाई पार्टीमा भित्र्याइएको हो।

गत निर्वाचनमा चौधरी नाउपाबाट रुपन्देही–१ का उम्मेदवार थिए। त्यतिबेला उनले १३ हजार ९६२ मत प्राप्त गरेर चौथो स्थानमा रहँदा, आफ्नो राजनीतिक प्रभाव सीमित देखाएका थिए।

यसअघि संघीय लोकतान्त्रिक मोर्चाले नाउपाका संरक्षक रेशम चौधरीले उठाएका उम्मेदवारलाई सघाउने निर्णय गरेको थियो। तर जनमत पार्टीले स्पष्ट घोषणा गर्दै नाउपालाई सघाउन नसक्ने जनाएको छ।

विश्लेषकका अनुसार, जनमत पार्टीले धनिराम चौधरीलाई उम्मेदवार बनाएर उपनिर्वाचनमा थारु समुदायको मत आकर्षित गर्ने रणनीति अपनाएको देखिन्छ। नाउपाभित्रको आन्तरिक विवादका कारण उक्त दलले उपनिर्वाचनका लागि दर्ता गर्न नसकेको छ। यही परिस्थितिको फाइदा उठाउँदै, जनमतले आफ्नो राजनीतिक आधार थप व्यापक बनाउने प्रयास गरिरहेको छ।


सम्बन्धित खबरहरु