काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक रूपमा भारत भ्रमणको निमन्त्रणा दिन भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आएका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा बिहान राजधानी प्रवेश गरेका मिश्रीले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
सूत्रका अनुसार, मिश्रीले आजै प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भ्रमणको औपचारिक निमन्त्रणा दिनेछन्। साथै उनी राष्ट्रपति रामचन्द्र पौडेल, परराष्ट्र मन्त्री आरजु राणा, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका उच्चपदस्थ नेताहरूसँग भेटवार्ता गर्नेछन्।
मिश्रीको भ्रमणको प्राथमिक उद्देश्य प्रधानमन्त्री ओलीको भारत भ्रमणको एजेन्डा तय गर्नु हो। उनका भेटवार्ता क्रम सोल्टी होटेलबाट सुरु हुनेछ र त्यसपछि शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता तथा परराष्ट्र मन्त्री राणासँग द्विपक्षीय वार्ता हुनेछ।
छलफलका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच द्विपक्षीय साझेदारीका विभिन्न विषयहरूमा पनि वार्ता हुनेछ। बैठकपछि मिश्रीले पशुपतिनाथको दर्शन गरेर भारत फर्किने कार्यक्रम रहेको छ।
भारतीय विदेश मन्त्रालयले परराष्ट्र सचिवको यस भ्रमणलाई दुवै देशबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा निरन्तरता र नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्ने नीतिको हिस्सासँग जोडेर अर्थपूर्ण ठहर गरेको छ।
प्रधानमन्त्री ओली भदौ ३१ गते दुई दिने भारत भ्रमणमा जाने तयारीमा छन्। यस भ्रमणमा उनी र मोदीबीच बिहारको बोधगयामा औपचारिक भेटवार्ता हुने योजना रहेको छ, जुन स्थानलाई बुद्धले ज्ञान प्राप्त गरेको स्थल मानिन्छ।
