काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रुपन्देही जिल्ला कारागारमा १२६ दिन बिताएपछि शनिबार काठमाडौं आएका छन्।
भैरहवास्थित कारागारबाट छुट्टिएर विमानस्थल पुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न समर्थकहरूको भीड पुगेको थियो।
रास्वपा लुम्बिनी प्रदेशको प्रशिक्षण कार्यक्रममा रहेका प्रवक्ता मनिष झाले र उपसभापति डा. स्वर्णिम वाग्लेले लामिछानेलाई कारागारमै भेट्न खोजे पनि प्रशासनले अनुमति नदिएको बताए। तर, विमानस्थलमा भने झा र वाग्लेले केही मिनेट मात्र भेट्न पाएको उल्लेख गरेका छन्।
विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै लामिछानेले राजनीतिक प्रतिशोधको सामना गर्न आफू तयार रहेको बताए। “राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो। जसरी सक्छन्, जता सक्छन् लगून्, केही फरक पर्दैन,” उनले भनेको प्रवक्ता झालले उद्धृत गरेका छन्।
१२६ दिनको भैरहवा कारावासबारे बोल्दै लामिछानेले त्यहाँका नागरिक, सुरक्षाकर्मी र प्रशासनप्रति आभार व्यक्त गरे। “भैरहवाको हावापानी, यहाँका आमा–बुबा, दाजुभाइ–दिदीबहिनी सबैप्रति कृतज्ञ छु। मलाई सुरक्षा दिने सुरक्षाकर्मी र खानपिनको व्यवस्थापन गर्ने कारागार प्रशासनलाई आभारी छु,” उनले भने।
कारागार कोठाको भित्तामा उनले लेखेको सन्देशको पनि उल्लेख गरे “अब यहाँ कृष्णहरू जन्मिने छैनन्, तर जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ।”
विरोधीहरूलाई संकेत गर्दै उनले थपे, “४६३ दिनअघि प्रमाण छ भनियो, मैले प्रमाण माग्दा बल देखाइयो। मैले न्याय माग्दा संयन्त्रले प्रतिशोध साध्यो। तर पनि म भयभीत छैन। म जनताको अदालतमा विश्वास गरेर परिवर्तनका लागि हिँडेको मान्छे हुँ।”
लामिछानेलाई शनिबार साँझ बुद्ध एयरको युए–८६० उडानमार्फत काठमाडौं ल्याइएको हो। उनलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ।
