काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानमा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे लगायत उच्च पदस्थ व्यक्तिहरूले प्रधानमन्त्रीलाई स्वागत गरेका थिए। सो अवसरमा नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, सुरक्षा निकायका प्रमुख तथा अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा नेपाली सेनाले सम्मान गारद अर्पण गर्यो।
प्रधानमन्त्री ओली तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा सम्मेलनमा सहभागी हुन साउन २० गते (५ अगस्ट) त्यसतर्फ प्रस्थान गरेका थिए। साउन २० देखि २३ गतेसम्म (५–८ अगस्ट) तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना भएको सो सम्मेलनमा उनले कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोका अध्यक्षका रूपमा सम्बोधन गरेका थिए।
