आज:  | Sun, 19, Apr, 2026

स्लिपिङ प्रिन्स’ को अन्त्य २० वर्षपछि साउदी राजकुमार अल वालिदको निधन

Avatar photo दिशा निर्देश ५ श्रावण २०८२, आईतवार १०:४६ मा प्रकाशित (९ महिना अघि)

साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल सउदको २० वर्षको कोमापछि शनिबार निधन भएको छ। ३६ वर्षको उमेरमा उनको निधन भएपछि साउदीसहित विश्वभरिका मानिसहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका छन्।

राजकुमार वालिद सन् २००५ मा लन्डनमा सैनिक तालिमको क्रममा कार दुर्घटनामा परेका थिए। त्यसबेला उनी मात्र १५ वर्षका थिए। दुर्घटनामा गम्भीर घाइते भएपछि उनको मस्तिष्कमा गहिरो चोट लागेको थियो र आन्तरिक रक्तस्रावसमेत भएको थियो। त्यसयता उनी कहिल्यै पूर्ण रूपमा होसमा फर्कन सकेनन्।

उनी अमेरिकाका साथै स्पेनका विशेषज्ञ चिकित्सकहरूको निगरानीमा दीर्घकालीन उपचारमा थिए। उनका शरीरमा कहिलेकाहीं देखिने स-साना गतिविधिहरूले परिवारमा आशा जगाउँथे। परिवारका सदस्यहरू उनलाई कुरान सुनाउन नियमित अस्पतालको कक्षमा जान्थे। त्यतिबेला केही भिडियो सार्वजनिक भएका थिए जसमा उनका शरीरका अंग हलचलमा देखिन्थे।

त्यस्ता संकेतले उनको पुनःसचेत हुने आशा पालिरहेकै अवस्थामा शनिबार उनले संसारबाट बिदा लिएका हुन्।

उनका पिता खालिद बिन तलाल धार्मिक आस्थामा गहिरो विश्वास राख्थे र सधैं भन्न गर्थे, “कुनै न कुनै दिन ईश्वरीय चमत्कार हुनेछ, मेरा छोराको आँखा फेरि खुल्नेछ।” तर त्यो क्षण आउन नपाउँदै २० वर्षको अविचल शारीरिक स्थिति पछि ‘स्लिपिङ प्रिन्स’ को जीवन यात्राको अन्त्य भएको हो।

राजकुमार वालिद ‘स्लिपिङ प्रिन्स’ (सुतिरहेको राजकुमार) भनेर चिनिन्थे — किनभने उनी लामो समयदेखि कोमामा थिए र होसमा फर्कने सम्भावनाको प्रतीक्षामा पूरै विश्वका दृष्टि केन्द्र बनेका थिए।

उनको निधनले साउदी राजपरिवार मात्र होइन, उनलाई चिनेका, पछ्याउने र आशा गर्ने लाखौं मनहरूमा गहिरो चोट परेको छ।


सम्बन्धित खबरहरु