आज:  | Thu, 23, Apr, 2026

मिटरब्याजी साहुकारविरुद्ध पर्सामा ८३ उजुरी

Avatar photo दिशा निर्देश ९ भाद्र २०७९, बिहीबार ०७:३९ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – मिटरब्याजी साहुकारविरुद्ध पर्सामा मंगलबारसम्म ८३ उजुरी परेको छ ।

चर्को मिटर ब्याजको समस्याले पीडित नागरिकले ८३ जना मिटरब्याजी साहुकारविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी गरेका हुन् ।

मिटर ब्याजीहरूका कारण कतिपयले घरबार गुमाएको त कतिपयले परिवार नै विथोलिएको भन्दै उजुरी गरेको बुझिएको छ ।

मिटर ब्याज साहुकारका कारण सोझासिधा नागरिक समस्यामा परेको भन्दै उनीहरुलाई कारबाही गर्न सरकारले उजुरी आह्वान गरेको थियो ।

यस अघि भदौ ५ गतेसम्म उजुरी दिने समय दिएको भए पनि सरकारले अहिले समय खुला गरेर मिटर ब्याजीबारेका निवेदन र कारबाहीलाई निरन्तरता दिन जिल्ला प्रशासन कार्यालयलाई परिपत्र नै जारी गरेको छ ।

त्यही आधारमा अहिले मिटरब्याजी साहुकारविरुद्धका निवेदन लिने काम जारी नै रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल बताउँछन् ।
‘हामीले निवेदन लिएर गृहमन्त्रालय पठाउँछौँ,’ उनले भने, ‘थप कारबाही र अनुसन्धान मन्त्रालय मातहतको प्रहरीले गर्ने गरेको छ ।’

पर्सा जिल्लामा पनि मिटर ब्याजीहरुको ठूलै गिरोह रहेको देखिएको र मंगलबारसम्म ८३ जना साहुकारविरुद्ध उजुरी परेको उनले बताए ।

मिटर ब्याजीहरूका कारण समस्यामा परेकाहरूको बारेमा अध्ययन गर्न गृहमन्त्रालयले सहसचिव डा.भिष्मकुमार भुसालको संयोजकत्वमा कार्यदल गठन गरेपछि कार्यदलले साहुकारविरुद्ध उजुरी दिन आह्वान गरेको थियो ।

त्यही अनुसार देशैभरबाट उजुरी आउने क्रम चलिरहेको र पर्सा जिल्लामा पनि त्यो क्रम जारी रहेको हो ।


सम्बन्धित खबरहरु