वीरगञ्ज – वीरगञ्ज महानगरकी उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी रम्भा मिश्राले शुक्रबार संकल्प पत्र सार्वजनिक गरेकी छन्।
उनले वीरगञ्जमा पत्रकार सम्मेलन गरी छात्रालाई आत्मरक्षा तालिमसहित गुडिया योजनामा छोरीका लागि २० हजारको मुद्दती खातासम्म समेटिएको संकल्प पत्र सार्वजनिक गरेकी हुन्।
उनले सार्वजनिक गरेकी संकल्प पत्रमा महिला सशक्तिकरणका लागि सीपमूलक तालिमको आयोजना, महानगरका वडाका पाँच सय महिलालाई अभिरुचिअनुसार सीपमूलक तालिम, घरेलु उद्योग सञ्चालन गर्न अनुदानको व्यवस्था गरी उत्पादित वस्तुलाई बजारीकरणमा सहयोग गर्ने उल्लेख छ।
यस्तै गरिब, दलित तथा अति विपन्न परिवारका छोरीको विवाहका लागि आवश्यक सहयोग, महिला हिंसा, घरेलु हिंसा, दाइजो प्रथा बालविवाह अन्त्यका लागि अभियानमार्फत सचेतना फैलाइने, महिला जनशक्तिको परिश्रमिकलाई पुरुषसरह बनाई एकरुपताको लागि पहल गरिने उक्त संकल्प पत्रमा जनाइएको छ।
आत्मसुरक्षाका लागि छात्रालाई तालिमको व्यवस्था गर्ने, गरिब, दलित, विपन्न छात्रालाई उच्च शिक्षाका लागि विशेष छात्रवृत्तिको व्यवस्था गर्नेलगायत प्रतिबद्धता भएको संकल्प पत्र मिश्राले सार्वजनिक गरेकी हुन्।
लोकतान्त्रिक समाजवादी पार्टीकी नेत्री मिश्रालाई उनको पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उपमेयरमा उम्मेदवारी दिएकी हुन्।
मूलधारका राजनीतिक दलहरुले मधेश प्रदेशकै एक मात्र महानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनको नाममा महिलाहरुको संवैधानिक सुनिश्चिततालाई कुण्ठित पारेको उनले उल्लेख गरिन् ।
देशमा भएका थुप्रै व्यवस्था परिवर्तनले अवस्थालाई परिवर्तन गर्न नसकेको बताउँदै उनले व्यवस्था परिवर्तनका लागि गुलाफ चिन्ह् मतदान गरि आफूलाई विजयी बनाउन आग्रह गरेकी छन् ।
