आज:  | Tue, 21, Apr, 2026

‘वैदेशिक रोजगारमा व्यक्तिगत ठगीको घटना डरलाग्दो छ’

दिशा निर्देश १९ माघ २०७७, सोमबार ०४:५५ मा प्रकाशित (५ साल अघि)

कोरोनाका कारण रोकिएको वैदेशिक रोजगार विस्तारै लयतर्फ फर्कन थालेको छ । अहिले दैनिक ५ सयको हाराहारीमा श्रम स्वीकृति लिनेहरू छन् । वैदेशिक रोजगारमा ठगीका घटना पहिलेदेखि नै हुने गरेको छ । अहिले विदेश मोहका कारण गैरकानुनी बाटो भएर जानेहरू पनि उत्तिकै छन् । वैदेशिक रोजगारमा गएकाहरूलाई एकातर्फ कम्पनीले ठग्ने अर्कोतर्फ व्यक्तिले ठग्ने गरेको गुनासो पनि प्रशस्तै आउने गरेका छन् । कोरनोपछिको वैदेशिक रोजगार, ठगी धन्दा रोक्न विभागको एक्सन, जापान, कोरिया रोजगार लगायतको विषयमा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालसँग रातोपटीका लागि एलिजा उप्रेतीले गरेको कुराकानीको अंश :

तपाईं विभाग आउनुभएको झण्डै एक वर्ष पुगेको छ । यस अवधिमा आफ्नो कार्यलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

माघ २३ गते म विभाग आएँ । फागुन २९ गतेदेखि सबै प्रकारका वैदेशिक रोजगारीमा जाने श्रम स्वीकृत नीतिगत रूपमा बन्द भयो । तर त्यसबीचमा पनि वैदेशिक रोजगारको नीति नियममा रहेर काम गरिरह्यौँ । विशेष गरेर कोरोनाको ठूलो अनुभव हामीसँग रह्यो । यहाँँबाट जाने कामदार विशेषगरी मध्यपूर्वी देशमा अलपत्र परे । उनीहरूको उद्धार पनि गर्दै गयौँ । यद्यपि हामीले प्रक्षेपण गरेभन्दा कम (एक डेढ लाखको हाराहारी) सङ्ख्यामा मात्र वैदेशिक रोजगारबाट फर्किए । व्यक्तिगत र संस्थागत उद्धार गर्दै गयौँ । विशेष गरेर भदौ १४ गते यता व्यक्तिगत र संस्थागत श्रम स्वीकृति खुल्यो । विभिन्न देशबाट मागपत्र प्रमाणीकरण भएर आउने काम पनि सुरु भइसकेको छ । अहिले वैदेशिक रोजगार ऐनको अधीनमा रहेर काम गरिरहेका छौँ । यस विभागमा निकै ठूलो जिम्मेवारी छ । यसका सेवाग्राही र लाभग्राहीको सङ्ख्या निकै ठूलो छ । त्यही विषयलाई रेगुलेसन गरेर अघि बढिरहेका छौँ ।


सम्बन्धित खबरहरु