आज:  | Fri, 01, May, 2026

महोत्तरी पठाउने नाममा वीरगञ्जमै भण्डारण: ४ करोडभन्दा बढीको सुपारीसहित दुई कन्टेनर नियन्त्रण

Avatar photo दिशा निर्देश ३ पुष २०८२, बिहीबार १८:०५ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज। राजस्व छली भित्र्याइएको आशंकामा प्रहरीले वीरगञ्जबाट झण्डै ४ करोड ७७ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको ठूलो परिमाणको सुपारी बरामद गरेको छ। बिहीबार वीरगञ्ज महानगरपालिका–२ स्थित बाइपास सडकमा रहेको एक उद्योगको गोदाम र त्यहाँ पार्किङ गरिएका दुई कन्टेनर गाडीबाट प्रहरीले १८०० बोरा सुपारी नियन्त्रणमा लिएको हो।

पर्सा प्रहरीका अनुसार उक्त सुपारी तेस्रो मुलुकबाट वीरगञ्ज भन्सार नाका हुँदै नेपाल भित्रिएको थियो। भन्सार कागजातमा अन्तिम गन्तव्य महोत्तरीको बर्दिवास उल्लेख भए पनि सिधै गन्तव्यमा नपठाई कन्टेनरबाट अनलोड गरी वीरगञ्जमै गोदाममा भण्डारण गरिएको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।

प्रहरी उपरीक्षक सुदीपराज पाठकको नेतृत्वमा खटिएको टोलीले गोदाम अगाडि रोकेर राखिएका ना ७ ख ७४२० र ना ४ ख ६८३२ नम्बरका कन्टेनरबाट ९०० बोरा तथा गोदामभित्र भण्डारण गरिएको थप ९०० बोरा गरी कूल १८०० बोरा सुपारी बरामद गरेको जनाएको छ।

छापाको क्रममा कन्टेनर चालकद्वय बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२० निवासी ४१ वर्षीय रामभरोस महरा र वडा नम्बर १९ निवासी ५१ वर्षीय रामप्रसाद यादवलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद सुपारीसहित दुवै कन्टेनर गाडीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि साँघ राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरीको भनाइ छ।

प्रहरी स्रोतका अनुसार उक्त सुपारी रोशन रनावत नामका व्यापारीको रहेको बताइएको छ। कागजात औपचारिक रूपमा वैध देखिए पनि सुपारीलाई नेपालभित्र खपत नगरी अवैध रूपमा भारत निर्यात गर्ने तयारी भइरहेको सूचनाका आधारमा छापा मारिएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


सम्बन्धित खबरहरु