आज:  | Fri, 01, May, 2026

जेन–जी आन्दोलनको आवरणमा आगजनी: मेयर सिंहको घर जलाएको आरोपमा रञ्जन सिंह राजपूत पक्राउ

Avatar photo दिशा निर्देश ३ पुष २०८२, बिहीबार १७:४२ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज। जेन–जी आन्दोलनको आवरणमा वीरगञ्जमा सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने प्रक्रिया सुरु भएको छ। आन्दोलन भएको करिब तीन महिनापछि जिल्ला प्रहरी कार्यालय पर्साले आगजनीमा संलग्न अभियुक्तहरूको खोजी र पक्राउ तीव्र पारेको हो।

यसैक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको वडा नम्बर ३ स्थित निजी निवासमा आगजनी गरेको आरोपमा एक युवकलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १०, रानीघाटका रञ्जन सिंह राजपूत रहेका छन्।

प्रहरीका अनुसार राजपूतलाई सोधपुछको लागि बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय बोलाइएको थियो। सोही क्रममा उनलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए।

मेयर सिंहले आफ्नो निजी निवासमा गरिएको तोडफोड, आगजनी तथा लुटपाट घटनामा संलग्नहरुविरुद्ध किटानी जाहेरी दिएपछि पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको र सोही आदेशका आधारमा राजपूतलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ।

प्रहरी स्रोतका अनुसार भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा वीरगञ्जका विभिन्न सरकारी कार्यालय र निजी घरहरूमा भएको व्यापक तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्न १२ देखि १५ जनासम्म विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ।

बिहीबार पक्राउ परेका राजपूतविरुद्ध आपराधिक उपद्रव कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक पाठकले स्पष्ट पारेका छन्।


सम्बन्धित खबरहरु