वीरगञ्ज । मधेश प्रदेश सरकारअन्तर्गतका सरकारी कार्यालयहरूमा गरिएको छड्के अनुगमनका क्रममा ७२ जना कर्मचारीमाथि कारबाही गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा गठन गरिएका आठ वटा अनुगमन टोलीले दुई दिनसम्म जनकपुरधामस्थित १८ वटा कार्यालयमा छड्के निरीक्षण गरेको हो।
निमित्त प्रमुख सचिव रामकुमार महतोका अनुसार मंगलबार ४८ जना र बुधबार २४ जना गरी जम्मा ७२ कर्मचारीलाई कारबाहीको दायरामा ल्याइएको छ। पदीय मर्यादा र कार्यालयीय अनुशासन पालना नगरेको पाइएपछि दुई जना उपसचिवसहित विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीलाई कारबाही गरिएको उनले जानकारी दिए।
प्रदेश सरकारका कार्यालयहरूमा कर्मचारीको लापरबाही बढ्दै गएको भन्दै जनगुनासो आएपछि लगातार दुई दिन छड्के निरीक्षण गरिएको हो। अनुगमनका क्रममा स्वीकृत बिदा नलिई कार्यालयमा अनुपस्थित रहेका ३४ जना तथा तोकिएको पोशाक नलगाई उपस्थित भएका ३८ जना कर्मचारी दोषी ठहरिएका छन्।
कारबाहीमा परेका कर्मचारीहरू विभिन्न मन्त्रालयसँग सम्बन्धित छन्। खेलकुद तथा समाज कल्याण मन्त्रालयका सबैभन्दा बढी नौ जना रहेका छन् भने उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका आठ जना, वन तथा वातावरण मन्त्रालयका छ जना, शिक्षा तथा संस्कृति तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका पाँच–पाँच जना, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका चार जना, स्वास्थ्य तथा जनसङ्ख्या तथा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका तीन–तीन जना तथा गृह, सञ्चार तथा कानून मन्त्रालयका एक जना कर्मचारी कारबाहीमा परेका छन्।
प्रदेश सरकारले सरकारी सेवामा अनुशासन र जवाफदेहिता अभिवृद्धि गर्न यस्ता अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।
