रौतहट । भारतसँग सीमा जोडिएको रौतहटको परोहा नगरपालिका–९ स्थित रामपुर खाप छोटी भन्सार कार्यालय पुनः सञ्चालन तथा चारपाङ्ग्रे सवारी साधनको सहज आवागमनको माग गर्दै सिमाना सङ्घर्ष समितिले अनिश्चितकालीन आमरण अनशन सुरु गरेको छ।
समितिका अध्यक्ष तथा पूर्व शिक्षक हाजी शेख तजमुल हकले आइतबार दिउँसो करिब ३ बजेदेखि रामपुर खाप छोटी भन्सार कार्यालय परिसरमै आमरण अनशन सुरु गरेका हुन्। समितिका अनुसार सोमबारदेखि पूर्व गाविस उपाध्यक्ष जगतलाल यादव र समाजसेवी साहेब शाह कानु पनि अनशनमा सहभागी हुने कार्यक्रम छ।
स्थानीयका अनुसार कोरोना महामारीका बेला सशस्त्र प्रहरी बलको बीओपी रामपुर खाप र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सो नाकाबाट चारपाङ्ग्रे सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गरेका थिए। महामारी समाप्त भएको लामो समय बितिसक्दा पनि नाका सञ्चालनमा नआएको भन्दै स्थानीयवासी आक्रोशित छन्।
रामपुर खाप नाकाबाट भारततर्फ चारपाङ्ग्रे सवारी आवतजावत सहज नहुँदा सीमावर्ती गाउँका बासिन्दाहरू विवाह, काजक्रिया, उपचार, घरायसी कामकाज तथा दैनिक किनबेचका लागि गम्भीर समस्यामा परिरहेको समितिले जनाएको छ।
दशकौँदेखि सञ्चालनमा रहेको रामपुर खाप छोटी भन्सार माओवादी द्वन्द्वकालमा असुरक्षाको कारण देखाउँदै जिल्ला भन्सार कार्यालय गौरमा गाभिएको थियो। छोटी भन्सार हटेको झन्डै दुई दशक बित्न लाग्दा पनि पुनः स्थापना हुन नसक्दा स्थानीयवासी निराश भएका छन्।
छोटी भन्सार सञ्चालन नहुँदा साना व्यापारीहरू बाध्य भएर भारतीय सामान अवैध रूपमा नेपाल भित्र्याउने अवस्था सिर्जना भएको छ। त्यस्तै, ठूला व्यापारीहरूले भारतीय सामानको भन्सार कटाउन करिब ३० किलोमिटर टाढा सदरमुकाम गौर पुग्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन्। यसले एकातर्फ सरकारी राजस्व चुहावट बढाएको र अर्कोतर्फ स्थानीय व्यापार व्यवसाय प्रभावित भएको उनीहरूको गुनासो छ।
यसअघि गत वर्ष पनि यही माग राख्दै स्थानीयले आमरण अनशन सुरु गरेका थिए। तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका एसपी तथा सशस्त्र प्रहरीका एसपीले मौखिक आश्वासन दिएपछि अनशन तोडिएको थियो। तर करिब एक वर्ष बितिसक्दा पनि कुनै ठोस पहल नभएपछि पुनः आमरण अनशन गर्न बाध्य भएको समितिले जनाएको छ।
आइतबारदेखि सुरु भएको अनशनप्रति सम्बन्धित निकायबाट कुनै चासो नदेखाइएको भन्दै स्थानीय सर्वसाधारणले असन्तुष्टि व्यक्त गरेका छन्। समयमै समस्या समाधानतर्फ ध्यान नदिए मानवीय क्षति हुन सक्ने चेतावनी दिँदै त्यसको सम्पूर्ण जिम्मेवारी जिल्ला प्रशासन कार्यालयका प्रमुखले लिनुपर्ने समितिको माग छ।
यसैबीच, क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा प्रत्याशी तथा पार्टीबाट एकल सिफारिस उम्मेदवार डा. फिरदोश आलमले भारतसँग जोडिएको रामपुर खापस्थित छोटी भन्सार नाका तत्काल पुनः सञ्चालन गर्न सरकारसँग जोडदार माग गरेका छन्। आइतबार धर्नास्थलमा पुगेर आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनले नाका खोल्न तथा चारपाङ्ग्रे सवारी साधनको आवतजावत पुनः सुचारु गराउन स्थानीय प्रशासन र केन्द्र सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए।
