आज:  | Fri, 01, May, 2026

वीरगञ्ज जेसिजको ५३औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशन भव्य रूपमा सम्पन्न

Avatar photo दिशा निर्देश २९ मंसिर २०८२, आईतवार ०९:४४ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज । वीरगञ्ज जेसिजको ५३औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशन भव्य एवं सभ्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। साधारण सभा वीरगञ्ज जेसिज वर्ष २०२५ का अध्यक्ष सिनेटर सरोज चौरसियाको सभापतित्वमा सम्पन्न भएको हो।

साधारण सभाको औपचारिक सत्रमा महासचिवले वर्षभरि सञ्चालन गरिएका कार्यक्रम तथा गतिविधिहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्षले शाखाको आर्थिक अवस्थालाई प्रतिबिम्बित गर्ने विस्तृत आर्थिक प्रतिवेदन सभासमक्ष पेश गरे। यसैगरी बोर्ड अफ ट्रस्टीजको तर्फबाट सिनेटर निशान्त लामिछानेले प्रतिवेदन प्रस्तुत गरे।

साधारण सभासँगै सम्पन्न निर्वाचन कार्यक्रमअन्तर्गत वीरगञ्ज जेसिज वर्ष २०२६ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ। निर्वाचनको सम्पूर्ण प्रक्रिया सम्पन्न भएपछि निर्वाचन आयुक्त सिनेटर डा. अरविन्द श्रेष्ठले निर्वाचन परिणाम औपचारिक रूपमा घोषणा गरेका थिए।

निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा जेसी रविन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। कार्यकारिणी उपाध्यक्ष पदमा जेसी रोशन दास थारु र जेसी रामानन्द चौधरी चयन भएका छन्। त्यस्तै उपाध्यक्ष पदमा जेसी निशचल प्रजापति, जेसी दीपक कुमार मेहता, जेसी रोहित गुप्ता र जेसी राकेश प्रसाद कुशवाहा निर्विरोध निर्वाचित भएका छन्।

वर्ष २०२६ का लागि नवनिर्वाचित अध्यक्ष जेसी रविन्द्र श्रेष्ठले कार्यसमितिलाई पूर्णता दिँदै जेसी उमेश गुप्तालाई कानुनी सल्लाहकार, जेसी प्रकाश साहलाई महासचिव तथा जेसी पप्पु गुप्तालाई कोषाध्यक्ष पदमा मनोनयन गरेका छन्।

त्यसैगरी बोर्ड सल्लाहकारका रूपमा वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी सेराज अन्सारीलाई मनोनयन गरिएको छ। अध्यक्ष सल्लाहकारका रूपमा पूर्व अध्यक्षहरू जेसी मुकेश सिंह, सिनेटर सन्तोष खनाल, सिनेटर बद्री बहादुर अधिकारी, सिनेटर गणेशमान श्रेष्ठ, सिनेटर निशान्त कुमार लामिछाने तथा सिनेटर अमित श्रेष्ठलाई मनोनयन गरिएको छ। साथै पूर्व अध्यक्ष जेसी अमर बहादुर गौतमलाई प्रमुख अध्यक्ष सल्लाहकारको रूपमा मनोनयन गरिएको छ।


सम्बन्धित खबरहरु