आज:  | Fri, 01, May, 2026

वीरगञ्जको त्रिशला रेस्टुराँमा काम गर्ने युवती मृत फेला, घटनाले रहस्यमय मोड लियो

Avatar photo दिशा निर्देश २९ मंसिर २०८२, आईतवार ०९:१६ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० स्थित पुरानो बसपार्क पछाडि रहेको त्रिशला रेस्टुराँमा कार्यरत २० वर्षीया युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। प्रारम्भिक अनुसन्धानले घटनालाई आत्महत्या जस्तो देखाए पनि शव झुन्डिएको अवस्थाबाट उतारिएको, प्रक्रियागत कमजोरी र परस्पर विरोधी बयानका कारण घटनाले रहस्यमय रूप लिएको छ।

मृतक पर्सागढी नगरपालिका–३ झाब्रा टोलकी सुनिता स्यान्बो रहेको प्रहरीले जनाएको छ। उनी त्रिशला रेस्टुराँसँगै जोडिएको मारवाडी सेवा सङ्घद्वारा सञ्चालित धर्मशालाको कोठा नम्बर १०५ मा मृत भेटिएकी थिइन्।

पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकका अनुसार प्रहरी घटनास्थलमा पुग्दा युवतीको शव झुन्डिएको अवस्थाबाट उतारेर खाटमा राखिएको थियो। प्रारम्भिक जानकारीअनुसार घटनास्थलमा पहिलो पटक पुगेका व्यक्तिहरूले नै शव उतारेका थिए। शव उतार्ने कार्यमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको उनले बताए।

“हालसम्मको प्रारम्भिक अनुसन्धानले आत्महत्याको संकेत गरे पनि पोस्टमार्टम रिपोर्ट र थप प्रमाण प्राप्त भएपछि मात्र ठोस निष्कर्षमा पुग्न सकिन्छ,” एसपी पाठकले बताए।

घटनास्थलमा प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा टोली खटिएर मुचुल्का उठाउने कार्य भइरहेको छ। मृतकका परिवारका सदस्यहरू आइपुगेपछि शवलाई पोस्टमार्टमका लागि पठाइने तयारी गरिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा पुगेका वीरगञ्ज महानगरपालिका १० का वडा सदस्य सन्तोष जैसीले जनप्रतिनिधिको उपस्थितिबिनै शव उतारिएको विषयमा प्रश्न उठाउँदै यसलाई प्रक्रियागत त्रुटि भएको बताएका छन्। उनले घटनाबारे जानकारी लिन खोज्दा प्रहरीबाट दुव्र्यवहार भएको आरोपसमेत लगाएका छन्।

त्रिशला रेस्टुराँ स्थानीय युवा अनमोल कुमारद्वारा सञ्चालित रहेको जनाइएको छ। प्रहरी स्रोतका अनुसार रेस्टुराँ सञ्चालकलाई पनि शङ्काको घेरामा राखी अनुसन्धान भइरहेको छ, यद्यपि हालसम्म उनलाई पक्राउ गरिएको छैन।

घटनासम्बन्धी प्रहरी तथा स्थानीयस्तरबाट आएका बयानहरूमा अस्पष्टता देखिएकाले अनुसन्धानलाई थप गम्भीर रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ। पोस्टमार्टम रिपोर्ट तथा संकलित प्रमाणका आधारमा घटनाको वास्तविकता सार्वजनिक गरिने जनाइएको छ।


सम्बन्धित खबरहरु