वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आइतबार बिहानै घण्टाघर नजिकै रहेको बीपी उद्यान क्षेत्रमा डोजर प्रयोग गरी खाली गराउने अभियान सुरु गरेको छ।
महानगरपालिकाको नेतृत्वमा नगर प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षामा उद्यान क्षेत्रमा रहेका अस्थायी संरचना हटाउने कार्य भइरहेको छ। सार्वजनिक स्थलको संरक्षण, सहरी व्यवस्थापन तथा उद्यानलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले यो अभियान अघि बढाइएको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाका अनुसार सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै उद्यानलाई सर्वसाधारणको हितमा सुरक्षित र व्यवस्थित स्थलका रूपमा विकास गर्ने दीर्घकालीन योजनाअन्तर्गत खाली गराउने कार्य गरिएको हो। हालसम्म कुनै अप्रिय घटना नभएको र अवस्था पूर्ण रूपमा नियन्त्रणमा रहेको जनाइएको छ।
महानगरपालिकाले बीपी उद्यानलाई सार्वजनिक प्रयोजनका लागि अझ व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने लक्ष्यसहित आवश्यक संरचनागत सुधार तथा व्यवस्थापनका काम चरणबद्ध रूपमा अघि बढाइने स्पष्ट पारेको छ।
