आज:  | Fri, 01, May, 2026

रौतहटमा फैसला कार्यान्वयन अभियान : २२ फरार प्रतिवादी पक्राउ

Avatar photo दिशा निर्देश २७ मंसिर २०८२, शुक्रबार ०८:३६ मा प्रकाशित (४ महिना अघि)

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले फैसला कार्यान्वयन अभियानअन्तर्गत लामो समयदेखि फरार रहेका २२ जना प्रतिवादीलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ। विभिन्न अदालतले कैद तथा जरिवाना तोके पनि वर्षौँदेखि फरार रहेका उनीहरूलाई बहुविवाह, चेक बाउन्स, जालसाजी, सामाजिक अपराध, कुटपिट र लेनदेनसम्बन्धी मुद्दामा संलग्न रहेको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी बिष्णुप्रदीप बस्यालका अनुसार पक्राउ पर्नेहरूमा शिवकुमार राई, कल्लाम, सन्तोष साह, राजकिशोर साह, आनन्द तिवारी, सुशील यादव, सुनीता बैठा, दशरथ दास ततमा, शिवदास ततमा, सनारपतिया ततमाईन, बिचय दास ततमा लगायत अन्य प्रतिवादीहरू रहेका छन्। त्यस्तै गंगाराम राय यादव, शिवकली देवी, रुबी कुमारी पाल, रेवती देवी पाल, बन्हु राउत पाल, राजेश्वर महतो तुनिया, महादेव राय कुर्मी, विपत्ती देवी, गायत्री देवी, गंगामाया श्रेष्ठ र ओमनारायण महतो समेत पक्राउ परेका छन्।

पक्राउ परेकाहरूबाट जम्मा २९ हजार ६०७ रुपैयाँ जरिवाना असुल गरिएको छ भने ११ महिना २५ दिन कैद सजाय भुक्तान गराउन उनीहरूलाई बिहीबार रौतहट जिल्ला अदालतमा उपस्थित गराइएको पुलिसले जनाएको छ।

यसैबीच, सरकारी जग्गा किर्ते कागजात बनाएर व्यक्तिगत नाममा लालपुर्जा निकालेको आरोपमा गुजरा नगरपालिका–४ कनकपुर टोलका ५८ वर्षीय शेख मेराजलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि कारागार चलान गरेको छ। अदालतको आदेशअनुसार उनलाई बुधबार गौर कारागारमा राखिएको प्रहरीले जानकारी दिएको छ।

मेराजले कटहरिया नगरपालिका–१, भसेढवास्थित सरकारी स्वामित्वको एलानी ११ विगाहा ७ कट्ठा १५ धुर जग्गा नक्कली कागजातमार्फत आफ्नै नाममा पास गराएका थिए। उनले जग्गाधनी प्रमाणपत्रदेखि मालपोत रसिद, भूमिकर कागजात र चारकिल्ला प्रमाणितसमेत नक्कली आधारमा तयार गराएको निष्कर्ष प्रहरीको छ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) बाट आएको पत्रपछि सरकारी जग्गा हिनामिना प्रयास भएको स्पष्ट भएपछि मेराजलाई गत कार्तिक २७ गते पक्राउ गरी अनुसन्धान थालिएको रौतहट प्रहरी प्रमुख एसपी रबिन कार्कीले जानकारी दिए। उक्त किर्ते कार्यमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।


सम्बन्धित खबरहरु