वीरगञ्ज । गएको भदौ २३ र २४ गते देखिएको जेनजी आन्दोलनका कारण देशभर करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको ताजा तथ्यांकले देखाएको छ।
क्षतिको मूल्याङ्कन तथा पुनर्निर्माण योजनाका लागि गठन गरिएको समितिले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएको प्रतिवेदनअनुसार २ हजार १ सय ६८ वटा संघ–संस्था तथा निकाय प्रभावित भएका छन् भने सातै प्रदेशका ५४ जिल्ला र २ सय ६२ पालिका आन्दोलनको असरमा परेका छन्।
कुल क्षतिको विवरणमा १२ हजार ६ सय ५९ वटा सवारीसाधन नोक्सान भई १२ अर्ब ९३ लाख ६१ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ भने सरकारी तथा सार्वजनिक क्षेत्रमा मात्र ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँको नोक्सानी भएको उल्लेख छ। त्यस्तै, २ हजार ६ सय ७१ भवनमा भएको क्षतिको मूल्याङ्कन ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ पुगेको छ भने सामुदायिक तथा अन्य क्षेत्रमा ५ अर्ब ९७ करोड १७ लाख रुपैयाँको क्षति भएको छ।
निजी क्षेत्रमा मात्रै ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रतिवेदनले जनाएको छ। सरकारी क्षेत्रमा भएको क्षतिमध्ये संघीय सरकारको हिस्सेदारी ६८ प्रतिशत, प्रदेशको १० प्रतिशत र स्थानीय तहको २२ प्रतिशत रहेको उल्लेख छ। आन्दोलनका कारण २ हजार ९ सय ९९ जनाको रोजगारी प्रभावित भएको छ भने करिब १३ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा उत्पादनमा अवरोध पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
