वीरगञ्ज । नेकपा एमालेका नेता तथा व्यवसायी शिवशंकर साह (हिरा) भारतबाट पक्राउ परेका छन्। मधेश प्रदेश उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका साहलाई भारतको सीतामढीबाट पक्राउ गरी मंगलबार साँझ धनुषा प्रहरीले बुझाएको हो।
जनकपुरमा उनले सञ्चालन गरेको होटलमा एक नाबालिकासम्बन्धी गम्भीर मुद्दाको अनुसन्धान तीव्र भएपछि प्रहरीले उनीविरुद्धको खोजी कार्य अघि बढाएको थियो।
यसअघि सोही प्रकरणमा उनका दाजु मनोज साहलाई केही दिनअघि प्रहरीले पक्राउ गरिसकेको थियो।
दाजु पक्राउपछिको अनुसन्धानबाट हिरा साह भारतमा लुकेर बसेको पुष्टि भएपछि भारतीय सुरक्षा निकायको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको धनुषा प्रहरीले जनाएको छ।
साह २०७९ को स्थानीय तह निर्वाचनमा जनकपुरधामका मेयरका उम्मेदवार रहेका थिए। उद्योग–वाणिज्य क्षेत्रमा सक्रिय उनी मधेश प्रदेश उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पनि हुन्।
सोही मुद्दामा फलसोम क्याफेका म्यानेजर अमित ठाकुर र पीडित बालिकाका मामा समेत पक्राउ परेका छन्।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
