आज:  | Fri, 01, May, 2026

बिनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिम फाइनल प्रवेश

Avatar photo दिशा निर्देश २४ मंसिर २०८२, मंगलवार १९:२९ मा प्रकाशित (४ महिना अघि)

बिरगञ्ज । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा विराटनगरलाई फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रनको प्रतिस्पर्धात्मक योगफल बनायो। जवाफमा लक्ष्य पछ्याएको विराटनगर १४ ओभर १ बलमै ७८ रनमा समेटिँदै ७७ रनले पराजित भयो।

विराटनगरको ७८ रन सिजनकै सबैभन्दा कमजोर स्कोर बनेको छ। यसअघि लिग चरणको १५ औँ खेलमा काठमाडौं गोर्खाजले दिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले ८९ रन बनाएको थियो।

लिगमा सुदूरपश्चिमलाई हराउँदै पहिलो क्वालिफायरमा पुगेको विराटनगरले यस पटक भने हारको पुनरावृत्ति रोक्न सकेन। अब विराटनगरले दोस्रो क्वालिफायरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीचको इलिमिनेटर विजेतासँग प्रतिस्पर्धा गर्नेछ। सो खेल जितेमा उसले फाइनलमा पुनः सुदूरपश्चिमलाई चुनौती दिने अवसर पाउनेछ।

सुदूरपश्चिमको जितका प्रमुख नायक ओपनर बिनोद भण्डारी रहे। उनले ५२ बलमा ३ चौका र २ छक्कासहित ६३ रनको दमदार इनिङ खेले र १८ ओभरको अन्तिम बलसम्म क्रिजमा टिके।
सहयोगी रनमा शेल्डन ज्याक्सन र आरिफ शेखले समान २०–२० रन जोड जबकि हर्मितले १४ तथा ओपनर मुख्तार अहमदले १० रन बनाए।

जवाफी ब्याटिङमा उत्रिएको विराटनगरको सुरुआत निकै खराब रह्यो। ओपनर साम हिजलेट गोल्डेन डक आउट भए भने अर्का ओपनर नरेन भट्ट पनि शून्यमै पेभिलियन फर्किए। त्यसपछि आएका मार्टिन गुप्टिल पनि ३ बलमा ३ रनमै रनआउट भएपछि विराटनगर दबाबमा पर्‍यो।

फाफ डु प्लेसिसले २९ बलमा ३ चौका र १ छक्कासहित ३६ रन बनाएर पारी सम्हाल्ने प्रयास गरे तर अन्य खेलाडीले साथ दिन नसकेपछि विराटनगर ठूलो अन्तरले पराजित भयो। बसिर अहमदले १२ तथा मर्चेन्ट डी ल्याङ्गेले १५ रन जोडे। बाँकी ब्याटर दोहोरो अंक छुने अवस्थामा पुगेनन्।

पहिलो ओभरमै २ विकेट गुमाएको विराटनगरले त्यसपछि कहिल्यै लय समात्न सकेन।


सम्बन्धित खबरहरु