आज:  | Fri, 01, May, 2026

भन्सार एजेन्टहरूको देशव्यापी ‘पेन डाउन’

Avatar photo दिशा निर्देश २४ मंसिर २०८२, मंगलवार १८:२० मा प्रकाशित (४ महिना अघि)

बिरगञ्ज । भन्सार ऐन २०८२ प्रति आपत्ति जनाउँदै भन्सार एजेन्ट महासंघ नेपालले आज (मंगलबार) देशभरका सबै भन्सार कार्यालयमा ‘पेन डाउन’  गरेको छ। महासंघले वीरगञ्ज भन्सारसहित सबै भन्सार कार्यालयमा काम रोक्दै विरोध प्रदर्शन थालेको हो।

महासंघका अध्यक्ष प्राचिनकुमार थैवका अनुसार नयाँ ऐनका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरूका पेशागत हकहित, कार्यसहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा नै नकारात्मक असर पार्ने वातावरण बनेपछि आन्दोलनमा उत्रिनु परेको हो।

यसअघि महासंघले आइतबार वीरगञ्ज भन्सार कार्यालय र सोमबार भैरहवा भन्सार कार्यालय ठप्प पारेको थियो। “नयाँ भन्सार ऐन जारी भएसँगै देखिएका समस्या तथा पेशासँग सम्बन्धित माग सम्बोधन नभए आजै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं,” अध्यक्ष थैवले चेतावनी दिए।

महासंघले हालै लागू भएको ऐनमा भन्सार एजेन्टको नाम दर्ता, दण्ड–जरिवाना, इजाजतपत्र नवीकरण, निलम्बन प्रक्रिया, बैंक जमानत, कम्प्युटर प्रणालीसँग जोडिएको ‘युजर आईडी’ व्यवस्थापन, ‘एक्जिट नोट’ र ‘इन्ट्री नोट’ व्यवस्था तथा इजाजत प्राप्त भन्सार एजेन्टमार्फत मात्र मालबस्तु जाँचपास गर्ने प्रावधान अनिवार्य हुनुपर्ने माग राख्दै आएको छ।

तर, माग बेवास्ता गर्दै लागू गरिएको नयाँ ऐनले अनावश्यक दण्ड–जरिवाना थपिएको, वैध व्यापार निरुत्साहित भएको तथा तजबिजी अधिकार बढाएको महासंघको आरोप छ।

भन्सार जाँचपासमा हुने ढिलासुस्ती, स्वचालन प्रणालीमा दोहोरो सर्भर समस्या, राजश्व भुक्तानी तथा क्वारेन्टाइनसम्बन्धी विषयमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुधार नआएको कारण भन्सार प्रक्रिया सहज हुन नसकेको केन्द्रीय सदस्य घिमिरेले बताए।


सम्बन्धित खबरहरु