बिरगञ्ज । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ मंगलबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट्न पुगेका छन्।
भेटका क्रममा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिप्रति चासो व्यक्त गरेका थिए। उनले जेनजी आन्दोलनलाई वैधता दिनेगरी सम्झौता प्रक्रियालाई चाँडो टुंग्याउनुपर्ने र त्यसलाई राष्ट्रपतिसमक्ष हस्ताक्षरका लागि अघि बढाउन आग्रह गरेका छन्, प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
त्यस क्रममा उनले आन्दोलनमा सहभागी भएका युवामाथि भइरहेका पक्राउ–धरपकडका घटनाबारे पनि गुनासो गरेका थिए। धरौटी रकम अभाव हुँदा कतिपय युवालाई पुर्पक्षका लागि थुनामा राखिनु परेको विषयमा उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
गत सातामै सरकारले जेनजीसँग सम्झौता गर्ने तयारी गरेको भए पनि प्रक्रिया ढिलाइ भइरहेका बेला गुरुङ प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन्।
