वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१९ स्थित बिन्दबासिनी चौकमा रहेको पूर्व पञ्चायतकालीन सार्वजनिक जग्गा लामो समयदेखि अवैध रूपमा कब्जा गरिएको पाइएको छ । वडा नम्बर १९ को कित्ता नम्बर ८२ मा अवस्थित ऐलानी जग्गामा निर्माण गरिएका सटरहरू भाडा नतिरी विभिन्न व्यक्तिले व्यवसाय सञ्चालन गरिरहेका छन् ।
उक्त स्थानमा ललन साह कानुले बिन्दबासिनी अनमोल मिष्ठान्न भण्डार सञ्चालन गर्दै आएका छन् भने अर्को सटरमा अमित यादवले आरके रिचार्ज सेन्टर चलाइरहेका छन् । त्यस्तै, दुई वटा सटरमा अस्थायी प्रहरी पोस्ट बिन्दबासिनी सञ्चालनमा छ भने एउटा सटर खाली अवस्थामा रहेको छ ।
उक्त जग्गा करिब ७ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । यस विषयमा श्री बिन्दबासिनी माई युवा क्लबका अध्यक्ष सोनु कुमार गुप्ताले सार्वजनिक सम्पत्तिमा केही व्यक्तिहरूले अवैध रूपमा कब्जा जमाएको भन्दै कडा आपत्ति जनाएका छन् । “सार्वजनिक जग्गा कब्जा गरेर निजी व्यवसाय सञ्चालन गर्नु गलत हो,” उनले भने ।
त्यहाँ निर्माण गरिएको सार्वजनिक शौचालय प्रयोगबिहीन र दुरावस्थामा रहेको छ । शौचालयको सरसफाइ र व्यवस्थापनमा त्यहाँ बसेका व्यक्तिहरूले कुनै चासो नदिएको अध्यक्ष गुप्ताको आरोप छ ।
अर्कोतर्फ वडा नम्बर १९ को कार्यालय बिन्दबासिनी चौक नजिकै मासिक २५ हजार रुपैयाँ भाडा तिरेर सञ्चालन भइरहेको छ । वर्षेनी लाखौँ रुपैयाँ भाडामा खर्चिनुभन्दा सोही ऐलानी जग्गामा रहेको भवनलाई वडा कार्यालयको रुपमा प्रयोग गर्नुपर्ने स्थानीयको माग छ ।
यस विषयमा वीरगञ्ज महानगरपालिकाको राजस्व व्यवस्थापन महाशाखाका प्रमुख मनोज कुमार कर्णले उक्त जग्गा तथा सटरहरूको उपयोगको लागि अहिलेसम्म कुनै पनि टेण्डर प्रक्रिया आह्वान नगरेको स्पष्ट पारेका छन् ।
स्थानीयले सार्वजनिक सम्पत्तिको संरक्षण, पारदर्शी व्यवस्थापन र कानुनी प्रक्रिया अनुसार जग्गा तथा संरचनाको उपयोग सुनिश्चित गर्न महानगरसँग माग गरेका छन् ।
