आज:  | Fri, 01, May, 2026

नामावली सच्याउन र मतदानस्थल सार्न अनलाइनबाटै निवेदन दिन सकिने

Avatar photo दिशा निर्देश २४ मंसिर २०८२, मंगलवार ०९:३० मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज । निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि सच्याउने तथा एउटै वडाभित्र मतदानस्थल परिवर्तनका लागि मंसिर २६ गते शुक्रबारसम्मको समयसीमा तय गरेको छ।

दाबी–विरोध प्रयोजनका लागि नामावली सार्वजनिक गर्दै आयोगले अनलाइनमार्फतै निवेदन दिन सकिने व्यवस्था गरेको छ। तोकिएको अवधिभित्र मतदाताले आफ्नो विवरणमा रहेका त्रुटि सच्याउन, नामावलीबाट नाम हटाउन तथा दाबी–विरोध दर्ता गर्न सक्नेछन्। साथै एउटै वडाभित्र आफूलाई पायक पर्ने अर्को स्थानमा मतदानस्थल परिवर्तन गर्न चाहनेले पनि अनलाइनमार्फत निवेदन दिन सक्ने आयोगले जनाएको छ।

आयोगका अनुसार कसैले झूटो विवरण दिएर नाम दर्ता गराएको भए सोको विरोधमा उजुरी दिन सकिन्छ। एउटै व्यक्तिको नाम धेरै ठाउँमा परेमा एक ठाउँमा मात्र राख्न आग्रह गरिएको छ। त्यस्तै मृतक वा नागरिकता त्याग गरेका व्यक्तिहरूको नाम हटाउन समेत सूचना दिन सकिने आयोगले जनाएको छ।

दाबी–विरोधका सबै प्रक्रिया पूरा भएपछि अन्तिम मतदाता नामावली प्रकाशित गर्ने तयारी आयोगले गरिरहेको छ।

मतदानस्थल छनोटका लागि अनलाइन सुविधा थप सुदृढ गरिने आयोगले जनाएको छ। अब मतदाताले वडाभित्र रहेका विभिन्न मतदानस्थलमध्ये आफूलाई सुविधा हुने ठाउँ चयन गर्न अनलाइन प्रणालीमार्फत निवेदन दिन सक्नेछन्। आयोगले मतदाता नामावलीलाई अझ शुद्ध, विश्वसनीय र त्रुटीरहित बनाउन आम मतदाता तथा सरोकारवालाको सक्रिय सहभागिताका लागि अपिल गरेको छ।

यस्तै, निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको व्यवस्थापन तथा समन्वयका लागि हिजो आयोगको कार्यालय परिसरमा उक्त कार्यालय स्थापना गरिएको हो।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने प्रावधान छ।


सम्बन्धित खबरहरु