वीरगञ्ज । करिब दुई दशकदेखि फरार रहेको जिउ मास्ने बेच्ने सम्बन्धी मुद्दाका मुख्य अभियुक्त सुरेश प्रसाद कलवार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको हो ।
२०६२ साल चैत १७ गते बेलुका करिब ८ बजे दर्ता भएको बृजेश प्रसाद कलवारको जाहेरीका आधारमा नेपाल सरकार वादी र वीरगञ्ज–१९ बसोबास गर्ने सुरेश प्रसाद कलवार प्रतिवादी रहने उक्त मुद्दामा सुरेश २० वर्षदेखि फरार थिए ।
प्रहरीका अनुसार २०८२ साल मंसिर २१ गते करिब ४ बजे प्रहरी टोलीले वीरगञ्ज–९ स्थित सडक खण्डबाट उनलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेपछि उनीमाथि जिउ मास्ने बेच्ने सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।
