आज:  | Fri, 01, May, 2026

राप्ती र नारायणीमा घडियाल गोही गणना सुरु

Avatar photo दिशा निर्देश २३ मंसिर २०८२, सोमबार १४:५६ मा प्रकाशित (४ महिना अघि)

चितवन । राप्ती र नारायणी नदीमा घडियाल गोहीको अवस्थाबारे अद्यावधिक जानकारी सङ्कलन गर्न चितवन राष्ट्रिय निकुञ्जले आइतबारदेखि घडियाल गोही गणना तथा अनुगमन सुरु गरेको छ। मंसिर २१ देखि २८ गतेसम्म चल्ने यो अभियान निकुञ्जद्वारा प्रत्येक वर्ष सञ्चालन गरिँदै आएको नियमित गतिविधि हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार प्रजनन केन्द्रमा हुर्काइएका घडियाल गोहीलाई हरेक वर्ष प्राकृतिक नदीमा छाडिने भएकाले तिनको जीवित अवस्था, वृद्धि र बसोबासको स्थिति बुझ्न यस प्रकारको अनुगमन आवश्यक हुन्छ।
उनले भने, “हरेक वर्ष नदीमा छाडिएका घडियालको संरक्षणको अवस्था बुझ्नकै लागि गणना तथा अनुगमन गरिन्छ।”

यस वर्षको गणना राप्ती नदीको लोथरदेखि गोलाघाट हुँदै त्रिवेणीसम्म र नारायणी नदीको गाँजीपुरदेखि गोलाघाट–राप्ती सङ्गमस्थलसम्म सञ्चालन भइरहेको छ। निकुञ्जका प्राविधिक, नेपाली सेना र बोटे समुदायका सदस्यहरू सहित आठ जनाको टोली खटाइएको छ। नदीका भङ्गालाहरू हुँदै गणना गर्नुपर्ने भएकाले प्रक्रिया समय लाग्ने थापाले बताए।

निकुञ्जमा हुर्काइएका घडियाललाई सन् १९९५ देखि देशका विभिन्न नदीमा छाडिँदै आएको छ। हालसम्म २,१०५ घडियाल गोही प्राकृतिक बासस्थानमा पुनःस्थापित गरिएको अधिकारी थापा मगरले जानकारी दिए। गत आर्थिक वर्षमा १३३ र चालु आर्थिक वर्षमा १५ वटा गोही नदीमा छाडिएका छन्। तर, भग्न जलप्रवाह तथा अन्य प्राकृतिक कारणले केही घडियाल बग्ने गरेकाले संख्या अपेक्षाकृत बढ्न नसकेको उनले बताए।

गत वर्षको गणनामा राप्ती र नारायणी नदीमा गरी ३५२ घडियाल भेटिएका थिए राप्तीमा २०६ र नारायणीमा १४६। संरक्षणकर्मीका अनुसार घडियाल गोही अत्यन्त संकटापन्न प्रजाति हो। एक समय पाकिस्तानदेखि म्यान्मासम्म फैलिएको यो प्रजाति हाल नेपाल र भारतमा मात्र सीमित छ।

सन् १९४० तिर विश्वभर करिब १० हजार घडियाल भएको अनुमान गरिन्छ। तर सन् १९७0 सम्म आइपुग्दा यसको संख्या दुई प्रतिशतमा झरेपछि संरक्षण अभियान तीव्र बनाइएको थियो।

थापा मगरका अनुसार नदीमा बढ्दो मानवीय गतिविधि, गिटी–बालुवा उत्खनन, प्रदूषण, अवैध माछा मार्ने कार्य तथा बासस्थान विनाशले घडियाल गोहीको अस्तित्व निरन्तर संकटमा परेको छ।


सम्बन्धित खबरहरु