हेटौँडा । हेटौँडा उपमहानगरपालिका क्षेत्रअन्तर्गत पर्ने राष्ट्रिय राजमार्गको सडक सीमाभित्र बनेका अवैध स्थायी तथा अस्थायी संरचना शनिबार बिहानदेखि हटाउन थालिएको छ। सडक डिभिजनले दिएको १५ दिनको अल्टिमेटम शुक्रबार सकिए लगत्तै आज बिहान ५ बजेदेखि डोजर चलाएर घर–टहरा भत्काउने काम सुरू गरेको हो।
सडक विस्तार अभियानमा करिब ५ सय सुरक्षाकर्मी र १० भन्दा धेरै डोजर परिचालन गरिएको छ। अहिलेसम्म १५ भन्दा बढी संरचना भत्काइिएको छ। पूर्वमुख्यमन्त्री तथा एमाले नेता डोरमणि पौडेलको मेन रोड, सिमा चोकस्थित पेन्टागन टावर परिसरमा पनि डोजर पुगेको छ।
सडक डिभिजन हेटौँडाले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म सडक सीमा ७५–७५ फिट गरी विस्तार गर्ने तयारी गरेको छ। सोहीअनुसार अवैध संरचना हटाउने कार्य अघि बढाइएको हो।
सडक डिभिजनले सर्वोच्च अदालतको आदेशलाई उद्धृत गर्दै मंसिर ५ गते नै १५ दिनभित्र संरचना आफूले नै हटाउन सूचनापत्र जारी गरेको थियो। तोकिएको समयसीमा पूरा भए पनि धेरै संरचना नहटेपछि डिभिजन स्वयं सक्रिय भएको हो।
डिभिजनका तथ्याङ्क अनुसार बजार क्षेत्रमा मात्र ९.५ किलोमिटर सडक खण्डभित्र ५३१ वटा संरचना भत्काउनुपर्नेछ। रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुल, र बुद्धचोकदेखि सामरी पुलसम्म पर्ने यी संरचनामध्ये सडकको केन्द्ररेखाबाट दायाँतर्फ २३४ र बायाँतर्फ २९७ वटा अवैध संरचना रहेका छन्।
