वीरगञ्ज । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि भर्ना गरिने अस्थायी सुरक्षाकर्मीलाई अब ‘निर्वाचन प्रहरी’ भनेर परिचित गराइने भएको छ। यसअघि नेपाल प्रहरीले निर्वाचन सुरक्षामा खटाइने यो जनशक्तिलाई ‘म्यादी प्रहरी’ नामले चिनाउने गर्थ्यो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रालयले यसपटक सुरक्षा व्यवस्थापनका लागि परिचालन हुने जनशक्तिको पहिचान परिवर्तन गर्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार, “म्यादी प्रहरीको साटो निर्वाचन प्रहरी नाम राखिँदा खटिने कार्यको स्पष्ट पहिचान र अपनत्व दुवै बढ्छ।” काफ्लेले निर्वाचन सुरक्षार्थ ४० दिनको कार्यअवधिसहित भर्ना प्रक्रिया अघि बढाइएको बताए।
गृह मन्त्रालयका अनुसार ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड २०८२’ को मस्यौदा नेपाल प्रहरी प्रधान कार्यालयमा तयारी हुँदैछ। निर्वाचन प्रहरीलाई छनोटदेखि मत परिणाम सार्वजनिक नहुँदासम्म खटाइनेछ। उनीहरूले प्रहरी जवानले पाउने आधारभूत तलबमानअनुसार पारिश्रमिक पाउनेछन् भने तोकिएको स्केलअनुसार रासन भत्ता पनि उपलब्ध गराइनेछ। पोसाक, दैनिक खर्च तथा यात्रा भत्ता विगतकै अभ्यासअनुसार प्रदान गरिनेछ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ४० दिनका लागि खटाइएका म्यादी प्रहरीलाई प्रतिदिन ८ सय ६९ रुपैयाँ दरले ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक दिइएको थियो। अतिरिक्त रूपमा ७ हजार २ सय रुपैयाँ रासन, हिमाली जिल्लामा स्थानीय दरअनुसार रासन भत्ता, ६ हजार रुपैयाँ पोसाक, १ हजार रुपैयाँ ज्याकेट, १ हजार रुपैयाँ यातायात र तीन दिनका लागि दैनिक ३०० दरले खाजा खर्च उपलब्ध गराइएको थियो।
यसपटक सरकारले करिब १ लाख ३० हजार निर्वाचन प्रहरी भर्ना गर्ने तयारी गरेको छ। २०७९ को प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी खटाइएका थिए। सो वर्षको स्थानीय तह निर्वाचनमा करिब १ लाख म्यादी, २०७४ सालमा ९८ हजार र त्यस वर्षकै स्थानीय तहमा ७५ हजार तथा २०७० मंसिरमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा ४५ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो।
