वीरगञ्ज। दिगो भविष्यका लागि हरित विद्यालय निर्माण र सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको डिजिटल सीप विकास उद्देश्यले राखिएको दुई दिने क्षमता विकास कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ । बारा, पर्सा र रौतहटका सिभिल सोसाइटी संस्थाहरूलाई आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यसहित ‘कारखाना समूह’ले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको पहिलो दिन वातावरणीय सचेतना, जलवायु परिवर्तनका असर र विद्यालयमा हरित अभ्यास लागू गर्ने आधारभूत अवधारणामा प्रशिक्षण केन्द्रित रहेको थियो । वन्यजन्तु संरक्षण संघ नेपालका राजेश्वर रिजाल र बृन्दा देवानले बालबालिका र प्रकृतिबीच घट्दै गएको सम्बन्ध, फोहोर व्यवस्थापनका उपाय, ऊर्जा–मैत्री विद्यालयका मोडेल, ईको क्लब सञ्चालन र वातावरणीय व्यवहार परिवर्तनका व्यवहारिक तरिका बारे सहभागीलाई प्रशिक्षण दिएका थिए ।
सहभागीहरूले हरित विद्यालय निर्देशिका २०७५ अनुरुप विद्यालयमै सहज रूपमा लागू गर्न सकिने अभ्यासहरूका बारेमा चर्चा गरेका थिए । फोहोर छुट्याउने प्रणाली, कम्पोस्ट मल उत्पादन, आकाशे पानी संकलन, करेसा बारी र स्थानीय स्तरमा सम्भव हुने पर्यावरणमैत्री गतिविधिहरूका बारे समूहगत छलफल गरी कार्यान्वयनका सम्भावित योजनासमेत तयार पारिएको कारखाना समूहका मधेश प्रदेश संयोजक निरज मिश्रले जानकारी दिए ।
दोस्रो दिनको सत्रमा डिजिटल सीप र एआई उपकरणको व्यवहारिक प्रयोग बारे जानकारी गराइएको थियो । प्रशिक्षक मोहित महर्जन र सरस्वती पौडेलले प्रतिवेदन लेखन, दस्तावेज तयारी, तथ्य व्यवस्थापन, प्रस्तुति बनाउने काम, तथा नियमित कार्यालय गतिविधिमा एआईले कसरी समय बचत र कार्यक्षमता वृद्धि गर्न मद्दत गर्छ भन्ने बारे प्रस्तुती दिएका थिए । सामाजिक संघ–संस्थामा काम गर्दा दैनिक रूपमा उपयोगी हुने एआई उपकरणका प्रयोग विधि बारे उनीहरुले सहभागीहरूलाई सिकाएका थिए ।
एआई उपकरणको प्रयोगले कामको गुणस्तरमा आउने सुधार, द्रुत निर्णय क्षमता र संस्थागत व्यवस्थापनमा हुने सहजताबारे सहभागीहरूले सकारात्मक धारणा व्यक्त गरे । सहभागी दलित महिला संघ पर्साकी अध्यक्ष निला रामका अनुसार एआई सत्रले ‘दैनिक कामलाई सजिलो मात्र होइन, संगठनको क्षमता अभिवृद्धिमा समेत सहयोग पु¥याएको’ छ ।
कार्यक्रममा सहभागीहरूले आगामी दिनमा पनि व्यावहारिक सीप अभिवृद्धिमाख केन्द्रित यस्ता प्रशिक्षण निरन्तर चलाइिरहन आग्रह गरे ।
