बीरगंज। स्वर्गीय पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापना गरिएको ‘स्वर्गीय नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार–२०८२’ यस वर्ष यात्रा डेली डटकमका पत्रकार आशु कुमार सर्राफलाई प्रदान गरिएको छ। समाजवादी प्रेस संगठन नेपाल पर्साले नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजना गरेको तेस्रो स्मृति सभा तथा पत्रकारिता पुरस्कार वितरण समारोहका बीच सर्राफलाई नगद २१ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको हो।
समारोह समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भुकुमार सुमनको अध्यक्षतामा सम्पन्न भएको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले दोसल्ला ओढाइ सम्मान पत्र र नगद २१ हजारको चेक हस्तान्तरण गर्दै पुरस्कृत पत्रकारलाई बधाई दिएका थिए। उनले पुरस्कारले पत्रकार आशु कुमारमा अझ ठूलो जिम्मेवारी थपिएको उल्लेख गर्दै तथ्यपरक, विश्वसनीय र जनहितमुखी पत्रकारितामा निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, तत्कालिन एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा, महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, प्रेस सेन्टर मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन मधेश प्रदेश अध्यक्ष मनोज पटेललगायतका वक्ताहरूले स्वर्गीय सर्राफको योगदान स्मरण गरे। वक्ताहरूका अनुसार स्वर्गीय सर्राफ निडर, इमानदार, निष्पक्ष र दृढ पत्रकार थिए। उनी नवपुस्ताका लागि प्रेरणाको स्रोत र पत्रकारिताको आदर्श मानिन्छन्।
नेपाल पत्रकार महासंघका सचिव तिवारीले सर्राफ महासंघको कार्यसमिति सदस्यसमेत रहेकाे उल्लेख गर्दै स्मृतिमा स्थापित पुरस्कारलाई महासंघमार्फत निरन्तरता दिनुपर्ने धारणा राखे। लेखा समिति संयोजक लामिछानेले समसामयिक पत्रकारितामाथि जनविश्वास घटिरहेको भन्दै विश्वास पुनःस्थापना पत्रकारहरूको साझा जिम्मेवारी भएको बताए।
समाजवादी प्रेस संगठनका अध्यक्ष सुमनले महासंघले सर्राफको स्मृतिमा घोषणा गरेको पुरस्कार विगतमा वितरण नहुनु दुःखद भएको भन्दै अबदेखि महासंघले नै पुरस्कार वितरणमा अग्रसर हुनुपर्ने सुझाब दिए।
पुरस्कार ग्रहण गर्दै पत्रकार आशु कुमार सर्राफले आफूलाई योग्य ठहरिएकोमा कृतज्ञता व्यक्त गरे। “यो पुरस्कारले मलाई अझ जिम्मेवार, व्यावसायिक र इमानदार बन्न प्रेरित गरेको छ। स्वर्गीय नरेश दाइ मेरो मार्गदर्शक जस्तै हुनुहुन्थ्यो। उहाँले सिकाएका पाठ आज पनि उतिकै उपयोगी छन्,” उनले भने।
कार्यक्रममा पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पूरणचन्द्र भट्ट, पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, विभिन्न प्रेस संगठनका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति थियो।
