वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६, भलुहीस्थित किरण बेभरेज नेपाल प्राइभेट लिमिटेडका व्यवस्थापक (म्यानेजर) रामकिशोर सिंहको हत्या उद्योगमै पूर्व कर्मचारीद्वारा गरिएको खुलेको छ। सर्लाहीको धनकौल गाउँपालिका वडा २ घर भएका ५० वर्षीय सिंहको शव मंसिर १२ गते बिहान उद्योग नजिकै भेटिएको थियो। मंसिर ११ गते बेलुकी घाँटी रेटेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेमराज नेपालका अनुसार, उद्योगमा केही समयअघि गाडी चालकको रूपमा कार्यरत २१ वर्षीय राजनकुमार राम (वीरगञ्ज–२२, मनियारी) र उनका साथी ३२ वर्षीय प्रमोद साहले मिलेर हत्या गरेका हुन्। मुख्य अभियुक्त राजनकुमारलाई भारततर्फ भाग्ने क्रममा पर्साको भिस्वा नाकाबाट पक्राउ गरिएको थियो भने प्रमोदलाई आफ्नै गाउँमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको छ।
हत्याको कारण प्रारम्भिक अनुसन्धानले स्पष्ट पारेको छ। राजनकुमारले गत वर्ष महागढीमाई मेलाको बेला गाडीको कलच प्लेट जलाएको आरोपमा म्यानेजर सिंहसँग विवाद गरेका थिए। त्यसपछि केही समय जागीर छाडे पनि कात्तिक १ देखि मंसिर १० सम्म पुनः काममा आएका थिए। अनुसन्धान अनुसार, राजनकुमारले उद्योगमा बिक्री मूल्य ११० रुपैयाँ तोके पनि व्यक्तिगत फाइदाका लागि ११५–१२० रुपैयाँमा बजारमा बिक्री गर्दै आएको पत्ता लागेपछि म्यानेजर सिंहले उनलाई मंसिर १० गते जागीरबाट निकालिदिएका थिए।
रिसमा आएको राजनकुमारले आफ्ना गाउँका साथी प्रमोदसंग मिलेर मंसिर ११ गते बेलुकी करिब ८ बजे उद्योगमा प्रवेश गरी सिंहको घाँटी छुराले रेटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको छ। घटनास्थलबाट रगत लागेको फलामको छुरा र रगत लागेको ईट्टा बरामद गरिएको प्रहरीले जनाएको छ।
