आज:  | Mon, 04, May, 2026

असई रागनी कुमारी यादव देशकै उत्कृष्ट प्रहरी घोषित

Avatar photo दिशा निर्देश १५ मंसिर २०८२, आईतवार १८:१९ मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी यादव देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत सुरक्षाकर्मीमध्ये “सर्वोत्कृष्ट प्रहरी” घोषित भएकी छिन्। गरुडास्थित इलाका प्रहरी कार्यालयमा दरबन्दी भई हाल रौतहटमा कार्यरत असई यादवले लैंगिक हिंसा न्यूनीकरण तथा उत्तरदायी प्रहरी सेवा प्रवाहमा उल्लेखनीय भूमिका निर्वाह गरेको भनेर पुरस्कृत गरिएको हो।

काठमाडौंमा आयोजित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमका क्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले उनलाई ४० हजार रुपैयाँ नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेका हुन्।

नेपाल प्रहरीको विभागीय नीति, निर्देशन र आदेशको प्रभावकारी कार्यान्वयन गर्दै असई यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको जिम्मेवारी उच्च व्यावसायिकताका साथ पूरा गरेकी थिइन्। उनी लैंगिक हिंसा न्यूनीकरण, पीडितमैत्री सेवा प्रवाह तथा समुदाय–प्रहरी सहकार्यमा प्रेरणादायी रूपमा सक्रिय रहेको मूल्यांकन समितिले जनाएको छ।

गत आर्थिक वर्ष २०८१/८२ को लैंगिक हिंसासम्बन्धी तथ्यांक सार्वजनिक कार्यक्रमका अवसरमा ‘उत्कृष्ट प्रहरी कर्मचारी छनौट समिति’ले देशभरका सेवा केन्द्रहरूमा कार्यरत सुरक्षाकर्मीहरूमध्ये कार्यसम्पादनका आधारमा यादवलाई पहिलो स्थानका लागि चयन गरेको हो।

यसै अवसरमा अर्घाखाँचीको बालकोट प्रहरी चौकीमा दरबन्दी भई हाल कपिलवस्तुमा कार्यरत प्रहरी सहायक निरीक्षक शान्ता खत्री ३० हजार रुपैयाँ नगदसहित द्वितीय घोषित भएकी छन्।
त्यसैगरी सिन्धुली जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार उमा तामाङ २० हजार रुपैयाँ नगद तथा प्रशंसापत्रसहित तृतीय भएकी छन्।

प्रहरी नायब निरीक्षक पूर्णिमा थापा र प्रहरी सहायक निरीक्षक साजना प्रसाईलाई १०/१० हजार रुपैयाँ नगदसहित सान्त्वना पुरस्कार प्रदान गरिएको छ।


सम्बन्धित खबरहरु