वीरगञ्ज । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार पक्राउ गरेको छ। सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार शेरचनमाथि बैंकिङ कसुर तथा बैंकलाई हानी–नोक्सानी पुर्याउने काम गरेको आरोप छ।
एसएसपी श्रेष्ठले प्रारम्भिक अनुसन्धानमा शेरचनले कर्जा दुरुपयोग गरेको आशंका देखिएकाले थप विवरण संकलन भइरहेको बताए। ‘अहिले अपरेशन जारी छ। केही समयपछि सम्पूर्ण विवरण सार्वजनिक हुनेछ,’ उनले भने।
यसअघि पनि सिआइबीले प्रभु बैंकसँग सम्बन्धित मुद्दामा छानबिन गर्दै आएको थियो। ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ लिन नहुने कसुरमा प्रभु म्यानेजमेन्टका पूर्वशेयरधनी तथा लेखा शाखामा कार्यरत हेमकुमार महाजुलाई प्रहरीले केही दिनअघि पक्राउ गरेको थियो। उनलाई हुण्डी कारोबारमा संलग्न भएको आरोप लागेको थियो।
