वीरगञ्ज । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले देशभरका मतदानस्थलहरूको व्यापक पुनरावलोकन पूरा गरेको छ।
मतदाताको पहुँच सहज, सरल र व्यवस्थित बनाउन पुराना मतदानस्थलहरूको मूल्यांकन गरी आवश्यक स्थानमा नयाँ मतदानस्थल थप गर्ने, अपायक वा जीर्ण अवस्थामा रहेका केही खारेज गर्ने तथा नाम–ठेगानामा रहेका त्रुटि सच्याउने कार्य आयोगले सम्पन्न गरेको हो।
आयोगको आइतबार बसेको बैठकले देशभर १६८ नयाँ मतदानस्थल थप गर्ने र प्रयोगमा नरहेका ९३ मतदानस्थल खारेज गर्ने निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। यसअनुसार देशभर कायम मतदानस्थलको संख्या १० हजार ८९२ बाट बढेर १० हजार ९६७ पुगेको छ।
पुनरावलोकनका क्रममा मतदाताको सुविधाका लागि आवश्यक परे मतदानस्थल आंशिक वा पूर्ण रूपमा स्थानान्तरण गर्ने, नजिकैको उपयुक्त मतदानस्थलमा समायोजन गर्ने तथा अन्य प्राविधिक समायोजनहरू गर्ने काम पनि आयोगले गरेको छ। आयोगका अनुसार यस कदमले आगामी निर्वाचनमा मतदाताको पहुँच विस्तार हुने, भीड व्यवस्थापन सहज हुने र सम्पूर्ण मतदान प्रक्रिया थप प्रभावकारी तथा सुचारु हुने अपेक्षा गरिएको छ।
